महानवमी र विजयादशमी एकै दिन, टीकाको साइत विहान सवा १० बजे

75
  •  
  •  
  •  

काठमाडौं, १७ असोज (ओएनएस): आज बडादसैंको महानवमी र विजयादशमी मनाईंदैछ । यसवर्ष तिथिका कारण महानवमी र विजयादशमी एकै दिन परेको हो ।  यसवर्ष वडादसैंको टीका लगाउने साइत आज बिहान १० बजेर १५ मिनेट जाँदा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

दुर्गा विर्सजन गरिसकेपछि दिनभरि नै टीका लगाउने साइत भए पनि बिहान १० बजेर १५ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाँग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए । दुर्गा विसर्जनका लागि भने बिहान ९ बजेर ५५ मिनेटको साइत उत्तम रहेको उनले बताए ।

आज महानवमी र विजया दशमी एकै दिन परेकाले महानवमीको कार्य सकी टिका लगाउनुपर्ने गौतमको भनाइ छ । दशैं भनेको नौ रात र १० दिन हुनुपर्नेमा यो वर्ष दशमी तिथिको सूर्योदय पञ्चांगमा नभएकाले आज नै महानवमी र विजया दशमी मनाउनुपरेको गौतमले बताए।घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ ।

अवसरमा दसैँघर र कोत लगायत  बिभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् । पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दसैँ घरमा हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाइएको छ

। आजै सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।यस्तै विजयादशमीको दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई आशीष थाप्ने चलन छ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा या मान्यजनहरुबाट टीका र जमरा लगाईन्छ ।असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिईन्छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायुको  आशीर्वाद लिने गरिन्छ । निधारभरी दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।


  •  
  •  
  •