घर जस्तो नहुने आश्रममा टीका

56
  •  
  •  
  •  

काठमाडौं, २० असोज :  ७६ वर्षीया मैया अधिकारी दशैं टीकाका दिन आखाँ आँशुले भरिएका  थिए ।  यो वर्ष पशुपति बृद्धाश्रममा आएकी उनले घरमा दशै मनाउन नपाएकाले नरमाइलो मानिरहेकी थिइन् । हत्केलाले आँशु पुसिन् र भनिन् ‘घर जस्तो रमाईलो त कहाँ हुन्छ र ?’ काठमाडौं नारायणथान घर भएकी अधिकारीका लागि आश्रममा पहिलो दशैं हो । ६ महिना अघि मात्र उनी नारायणथानबाट आश्रम आएकी हुन् । ‘लाउन खान नपुगेर होईन, सहारा कोही नभएर आएकी हुँ’ उनले सुनाईन् ‘श्रीमान् र छोरी बितेपछि केही बर्ष माईतमा बिताएँ, त्यहाँ पनि बस्न असहज भएपछि आश्रममा आएँ ।’ ३५ बषिर्य छोरी बितेपछि उनका अब आफन्त भन्ने कोही रहेनन् । श्रीमान त २२ बर्ष पहिला नै बिते । धेरै समय बाँचेकी छोरी र जन्मिएका पाँचै सन्तान दादुराले बिते ।

उनी जस्ता झण्डै २ सय ६७ जना बृद्ध बृद्धाले शुक्रबार दशैंको टीको आश्रममा नै लगाए । पशुपतिनाथ परिसर भित्र रहेको बृद्धाश्रममा दशैंको टीकाका दिन धेरै जसो सबेरै उठे । ६५ को हाराहारी उमेर काटेका ति बृद्धबृद्धा मध्ये नुहाउन सक्नेले नुहाए । नसक्नेले बृद्धाश्रमले दिएका नयाँ कपडा लगाए । महिलालाई धोती सारी र पुरुषलाई कमिज र ढाका टोपी दिइएको थियो । अनि टीकाको साईतमा बृद्धाश्रमकै पुजारीले उनीहरुलाई टीका लगाईदिए । टीका लगाउँदा धेरैका आखाँ रसाएका थिए । हरेक बर्ष आफन्त कोही लिन आउला, लिएर जाला भन्दा भन्दै यिनीहरुले धेरै दशैं यहि आश्रममा मनाएका छन् ।

उमेरको ‘दोस्रो ईनिङ’मा आफ्ना छोरा, छोरी नाती नातिनालाई छाडेर यो आश्रममा शरण लिन अाएका यिनीहरुलाई दशैं खल्लोे लाग्छ । पाँच बर्ष अघि देखी बृद्धाश्रममा बस्दै आएका गुल्मीका ७१ बषिर्य गंगू गिरी बृद्धाश्रमको ढोकामा बाटो तिर आखाँ बिछ्याएर बसेका थिए । काठमाडौंकै कुनै ठाउँमा बस्ने छोरा छोरी टीका लगाउन आउलान् भन्ने आश उनको मनमा थियो । गिरीकी श्रीमती छोरा छोरी ३ र दुई बर्षको छदाँ बितिन् । गिरीले दुखसुख गरेर ति छोरा छोरी हुर्काए । तर खुट्टा लागेपछि छोरा छोरीसंग उनका लागि समय पटक्कै भएन । अनि उनले आश्रमको बाटो रोजे ।

‘उनीहरु त लैजान सक्त्तैनन्, लिन आएपनि त मन बुझ्छ’ उनले भने ‘म जस्ता त यहाँ थुप्रै छन्, जो छोरा छोरीको आश गरेर बस्छन् ।’ छोरा छोरी त लिन वा टीका लगाउन आउँदैनन्, बरु टीकाको दिन उनीहरुलाई फलफूल बाँड्न भने थुप्रै मान्छेहरुको लाईन लागेको थियो ।

मध्याहन्न तिर आँखा नदेख्ने एक बृद्धलाई उनका नातिले डोर्‍याउँदै आश्रम भित्र पुर्‍याए । झाँक्रि नामले चिनिने ति बृद्धलाई नातिले दशैंमा टीका लगाउन बिहान घर लगेका थिए । टीका लगाईदिई सकेपछि उनले फेरी हजुरबुवालाई आश्रममा नै छाडेर गए ।

आश्रमको बाहिरी ढोकाको छेउमा थोत्रा कम्बल माथी सुतेका श्रीमानको स्विटरमा लागेको भुवा टिपिदिदैं थिईन् ७२ बषिर्य मनकुमारी नगरकोटी । पाँच बर्ष पहिला छोरा बुहारीले हेला गरेपछि खान लगाउन नदिएपछि उनीहरु एउटा पुरोहीतको साथ लागेर राजधानी आएका थिए । उनीहरु आफ्नो घर ठेगाना कहाँ समेत राम्रोसंग बताउन सक्त्तैनन् । छोरा लिन नआएको कुरा गर्दा मनकुमारीको गला अवरुद्ध हुदै थियो । अझ दशैंमा छोरा छोरी बिना नै बस्नु पर्ने वा मनाउनुपर्ने कुरा थप्दैं जादाँ उनका आखाँ रसाए । श्रीमान बलबहादुर राजकोटी त बोल्नै मानेनन् । अर्कोतिर मुख फर्काएर बसे । जोड लगाएर सोध्दा थोरै जवाफ दिन्थे ।

अर्घाखाँचीबाट आएर बसेका बृहस्पती घिमिरे हरेक दिन बिहान बाटो तर्फ आखाँ ओछ्याएर बस्छन् । ३ जना छोरी मध्ये कुनै एक त लिन आउलान् भन्ने आश उनको मनमा रहिरन्छन । ९१ बषिर्य घिमिरेको एउटा छोरा पनि छन् । तर उनलाई त्यसको पटक्कै भर र आड लाग्दैन । ‘धन्धुकारी छोरो छ मेरो, त्यसैका कारणले ७ बर्ष अघि देखी आश्रममा आएर बसेको हुँ’ उनले सुनाए ‘छोरीहरु त यतै काठमाडांैमा छन् तर उनीहरु लिन आउँदैनन्, आफू खोज्दै जादाँ एक रात बास त पाईन्थ्यो कि ।’ दशैंमा बुढाबुढीले आफू भन्दा सानालाई टीका लगाउनुपर्ने हो । तर उनीहरुले कसैलाई लगाईदिन पाउँदैनन् । बरु उनीहरुलाई नै अरुले लगाईदिन्छन् ।

कान्तिपुर दैनिकबाट

 


  •  
  •  
  •