दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको पूजाआजा गरिंदै

124
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) : महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो ।

चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।
चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुंदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । जगत वैभवशाली भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ ।

चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुंदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् ।

उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।  माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन् ।

गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान ,कथावाचन तथा श्रवण गरिंदै छ ।


  •  
  •  
  •