एक लाख दश हजार टिकेट बुकिङ

120
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) दशैं, तिहार र छठमा घर जान १ लाख १० हजार ५४ जनाले अग्रिम टिकट बुकिङ गरेका छन् । पूर्व क्षेत्रतर्फ ७४ हजार १ सय ५९ र पश्चिमतर्फ ३५ हजार ८ सय ९५ जनाले अग्रिम टिकट बुक गरेका हुन् ।

गत भदौं २५ गतेदेखि टिकटको बुकिङ सुरु भएको हो । उक्त समयदेखि एक साताभित्र ४ लाख ४५ हजार जना घर फर्किएका छन् भने यो समयमा २९ हजार ५ सय ८४ वटा बस उपत्यकाबाट बहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यो समयमा ४ लाख ४५ हजार जना घर फर्किएका छन् । दशैंमा करिव १६ लाखले उपत्यका छोड्ने अनुमान छ ।

    दैनिक ३ हजार ५ सयको संख्यामा बस पूर्व र पश्चिम सञ्चालित छन् । दशैंको समयमा अग्रिम टिकट बुक भइसकेको भन्दै व्यवसायीले टिकट काट्न छोडेका छन् । असोज १० देखि १६ सम्मका टिकट बुक भएका छन् । अग्रिम बुकिङ सुरु हुनअघि नै व्यवसायीले टिकट बिक्री गरेकोले सबै बसका सिट प्याक भइसकेको कोटेश्वर ट्राफिकका एक प्रहरी नायव निरीक्षकले बताए ।

बसका टिकट बुक भइसकेकोले १ हजार ५ सयको संख्यामा बस थप गर्ने तयारीमा व्यवसायी र ट्राफिक प्रहरी रहेको छ । मर्मतका लागि ग्यारेजमा रहेका र उपत्यकामा चल्ने बसलाई थप गर्ने तयारीमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘टिकट नपाएको गुनासा आइरहेका छन्, व्यवसायीसँग आग्रह गरेर बस थप गर्ने तयारीमा छौं ।’ ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बसन्त पन्तले भने ।

 ट्राफिक प्रहरीले दशैं, तिहार र छठमा उपत्यकाबाहिर जाने यात्रुहरु ठगिनबाट रोक्न उनीहरुको सहयोगका लागि नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । नागरिकलाई ठगिनबाट रोक्न सञ्चालन गरेको कक्ष खासै प्रभावकारी नभएको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवस्था विभागले तय गरेको भाडाभन्दा अधिक रकम लिएर टिकट काट्ने काम भइरहेको भन्दै सहायता कक्षबाट पनि यात्रु ठगिनेक्रम रोक्न नसकेको झापाको टिकट लिएका राजु चापागाईले बताए । उनले भने, ‘तोकिएको भाडा भन्दा चार सय रुपैयाँसम्म बढी तिरेर गाडीको टिकट लिएँ ।’

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारीका अनुसार गुनासो लिएर आएका यात्रीको गुनासाको सम्बोधन भइरहेको छ । उनले तोकिएको भाडाभन्दा बढी लिएको पाइएमा यातायात व्यवासायीलाई कारवाही गर्ने दावी समेत गरे ।


  •  
  •  
  •