दशैँमा खानपानः डा. अरूणा उप्रेतीका टिप्स

117
  •  
  •  
  •  

दशैँमा मासु खाने प्रचलन हाम्रो संस्कृति एवं रीतिरिवाजसँग जोडिएको छ । पहिलेपहिले हामी नेपालीसँग त्यति पैसा हुँदैनथ्यो होला र मासु खानलाई पनि दशैं नै कुर्र्नुपथ्र्याे । दशैँमा घरपरिवार एक ठाउँमा हुने र पैसा पनि जोहो हुने भएकाले एक दिन भए पनि मासुसँगै मीठोमसिनो खाऔँ भन्ने गरिन्थ्यो ।

मीठो भन्ने शब्द मासुसँग गासिएको छ । चाडपर्वमा मासु, मीठोमसिनो खाने प्रचलन नयाँ होइन पहिलेदेखि नै चलिआएको हो, अहिले पनि निरन्तर छ ।

हाल धेरै नेपालीलाई मासु खान दशैं नै कुर्नुपर्दैन । आर्थिक हैसियत र रुचीअनुसार मासु खाने गरिन्छ । चाडपर्वमा माछा, मासु खाइन्छ तर धेरै चिल्लो खाँदा चाहिँ स्वास्थ्य अवस्थामा हानी गर्दछ । दसैंमा अर्काे परिकार भनेको सेलपुरी हो । दशैंको दुई–तीन वटा विषयले सकारात्मक कुरा ल्याउँछ ।

दशैंले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ। त्यस्तै, हाम्रो संस्कृतिको अभिन्न अंग सेलपुरी बनाउनु दशैंतिहारमा त्यहाँ संस्कृतिसँग जोडिएको छ ।

जसलाई स्वास्थ्य समस्या छ, जो अस्वस्थ छ तिनिहरूले भने ध्यान दिनुपर्छ । मासुसँगै चिल्लोपीरो बढी खाँदा पनि स्वास्थ्यमा झन समस्या पर्न सक्छ । दसैँतिहार हाम्रो धर्म, संस्कृति, समुदायसँग जोडिएको चाड हो, यसलाई रमाइलो गरी मनाउनु पर्छ । तर खाँदा अलिकति सावधानी भएर खानुपर्छ । अरूसँग उधारो लिएर, कर्जा लिएर खसी किन्न जरूरत छैन । देखासिखी गर्नु पनि हुँदैन ।

एकछिन रमाइलो त हुन्छ तर पछि गएर ऋण कसरी तिर्ने भन्ने पिर हुन्छ । दशैँतिहार संयमित भएर मनाउनु पर्छ र संयमित भएर खानुपर्छ । रमाइलो गर्नुपर्छ ।

दशैँतिहार जस्ता पर्वहरू जिन्दगीमा रमाइलो लाग्छन्, हाम्रो सम्बन्धलाई गाँस्छन् । समुदायमा रमाइलोको अनुभव हुन्छ । बालबालिकाले हाम्रो संस्कृति सिक्छन यो एकदमै राम्रो पक्ष हो । पर्वमा सेकुवा खाऔँ गरिन्छ । वर्षमा एक–दुई पटक पोलेको सेकुवा खानु त्यति नराम्रो मानिँदैन । तर, धेरै सेकुवा खानु पेट, स्वास्थ्यको लागि नराम्रो भनेर विभिन्न अध्ययनले देखाइसकेका छन् ।

जो पहिले नै स्वास्थ्य समस्यामा छ जस्तो यूरिक एसिड, मोटोपन र मुटुको । त्यस्तो व्यक्तिलाई झन समस्या हुन सक्छ । किनभने मासु खाँदा हामी मासु मात्र खादैँनौ । अन्य धेरै परिकार पनि खान्छौँ । यी सबै परिकार खादा सबैमा अलि बढी नै नुन राखिएको हुन्छ । सामान्य व्यक्तिलाई एक–दुई दिन बढी नुन खादैमा केही फरक नपर्ला तर जो पहिला नै समस्यामा छ । उसलाई एकदमै संयमित भएर खानुपर्छ ।

मिठो बनाउनलाई धेरै चिल्लो राख्नु पर्दन मिठो बनाउनलाई धेरै मसला राख्नु पर्दछ । मिठो बनाउनलाई थोरै मसलाले पनि हुन्छ । अनि खानेकुरा धेरै बनाएर कयौँ दिनसम्म तताएर खाने चलन पनि छ, यसले खानाको पौष्टिकतामा कमी हुन्छ र अनि धेरै दिनसम्म राखिएको खाँदा अपच पनि हुनसक्छ ।

चाडपर्व भनेको खानपान, भेटघाटसँगैै रमाइलोेसँग सम्बन्धित छ। दशैंतिहार जस्ता पर्वको अवसरमा नयाँ–नयाँ ठाउँ घुमघाम पनि गर्न सकिन्छ । नयाँ ठाउँ घुम्न जाँदा परिवेश, संस्कृतिबारे जानकारी हुन्छ । यो बीचमा लामो बिदा हुने भएकाले भ्रमण गर्ने क्रम बढेको छ । पहिले–पहिले तास खेलेर समय बिताउथे चलन थियो ।

(डा. उप्रेतीसँग कुराकानीमा आधारित)


  •  
  •  
  •