दशैँलाई कसरी सदुपयोग गर्ने ?

392
  •  
  •  
  •  

नेपालीहरूको महान चाड दशैँ शुरु भएको छ । कयौँको मनमा उत्साह भरिएको छ भने कतिपयको मनमा अन्यौँलता । यो मैले आफ्नै अनुभवले भनेको हो । म गाउँमा जन्मीहुर्की बढेको मानिस ।

मैले दशैँ साह्रै रमाइलो गरी मनाएकी छु । नयाँ लुगा, मीठामीठा खानेकुरा तिनको सम्झनाले अहिले पनि मन प्रफूल्लित हुन्छ । मुख रसाएर आउँछ ।

म जन्मेदेखि नै शाकाहारी । हुन् त हामी सबै जन्मदा शाकाहारी नै हुन्छौँ । पछि हामी कस्तो घरपरिवारमा हुर्कियौँ त्यसको आधारमा शाकाहारी, मांशाहारी निर्धारण हुन्छ । मेरो घरमा पनि हजुरआमा बाहेक अरू सबै मांशाहारी नै हुनहुन्थ्यो, तर मलाई त्यसले कहिल्यै तानेन ।

मामा घरमा हुर्किएँ, दशैँ आउन लाग्यो भन्ने बितिक्कै हजुरआमाको मन प्रसन्न हुन्थ्यो । उहाँको मुहारमा देखिने प्रसन्नता । उहाँको व्यवहारमा पनि झल्किन्थ्यो । मधेसको ठाउँमा बाहुन परिवारको एकल अधबैसे महिलालाई घर चलाउन त्यति कहाँ सजिलो हुन्थ्यो र । त्यो मैले यहाँ भन्नै पर्दैन । ती काम, कुरा र समाजले दिएका र भनेका कर्तव्यमा झुल्सेको, पिल्सेको मेरो हजुरआमाको अनुहार दशैँ आउन थालेपछि खुल्न थाल्थ्यो ।

त्यसको एउटै कारण थियो दशैँमा उहाँको एउटा छोरा अर्थात् मेरो मामाको घरमा आगमन ।
त्यो हाम्रो लागि सबैभन्दा खुसीको क्षण हुन्थ्यो । म पनि धेरै खुसी हुन्थे । त्यसको कारण थियो मामाले नयाँ लुगा लिएर आउनु हुन्थ्यो। कुनै कुनै वर्ष त आमा पनि आउनु हुन्थ्यो । मामा र आमा दुबै आएको वर्ष त लुगा दोब्बर हुने ।

दशैँको तयारी भनेको घर पोत्ने हुन्छ, हाम्रो दुई तले माटोको घर थियो । हजुरआमा, माइजु न भएको मौका छोपी यो पूरै घर आफू एक्लैले पोतेको बहादुरीका कथा धेरै छन् ।

मसँग यसका साथै झिसमिसेमै उठेर ढिकीमा चिउरा कुट्न जाने, बारीको केरा पकाउने, काक्राको खल्पी हाल्ने जस्ता कामले साह्रै रमाउथेँ ।

गाउँ छोडेपछि दिस्तारै दशैँ रंगहरु फिका हुन थाले । दुई वर्ष काठमाडौँमा हेल्थ असिस्टेन्ट पढुन्जेल दशैँको छुट्टीमा घर जान रमालाई हुन्थ्यो । त्रिभुवन राजपथको बाटो अनि बाटो भरि बान्ता हुने भएकोले जान न परे हुन्थ्यो जस्तो लाग्थ्यो ।

त्यसपछि म मेडिकल पढ्न रुस पुगे, ‘दसाही’ दशैँ रहेन । खाने पिउने चाडको रुपमा रह्यो । मन कहिल्यै रमाएन बरु पढाई कहिले सकिएला अनि नेपाल फर्केपछि दशैँमा रमाइलो गरौँला भन्ने भै रह्यो ।

बिडम्बना नेपाल फर्केपछि पनि दुई बच्चाकी आमा, प्रसूति गृहको जागिर अनि नेवार परिवारको बुहारीभित्र दशैँ कसरी हरायो त्यसलाई बयान गर्न समय लाग्छ ।

दशैँमा रमाउने भन्ने एउटी कुरा थियो । घन्टौँ लाइन लागेर भए पनि देवीस्थानको दर्शन ।
त्यो समय मलाई खुला आकाश मुनि आफैँसँग भएको अनुभूति हुन्थ्यो । तर त्यसमा पनि भनाइ कति खाइन्थ्यो भन्ने साध्य छैन । मासुको गन्ध, सुकाएर सुकुटी नाम दिइएको मासु ।

बेलुका धेरै घरमा पालैसँग गरिने रक्सी र मासुको प्रतिस्पर्धात्मक पार्टीको एउटा पात्र अनि जवर्जस्ती बिना कुनै उत्साह लुगा लगाएर टिका थाप्न जाने परम्परा धाने ।

एउटा बाहना बाहेक दशैँ मेरा लागि अरु केहि बन्न सकेन।

तर, अहिले मेरा लागि दशैँ फेरिएको छ । हुन त कसैका लागि काम गर्ने न भएकाले म आफ्नो समय आफैँ मिलाउन सक्छु । तर, पनि अरू ती काम गरेको बखतमै आफूले पनि काम गर्नु पर्ने बाध्यताबाट बाहिर भने छैन ।

त्यसैले दशैँ बिदाले जीवनमा धेरै महत्व राखेको छ । यो समय केही वर्षदेखि मैले आफ्ना लागि छुट्याउन थालेकी छु । यसमा साथीहरुले पनि साथ दिएका छन् ।

आफूले आफैँलाई चिन्नु नै सबैभन्दा कठीन काम हो भन्ने मलाई लाग्थ्यो । आजकाल त्यो सहज हुन थालेको छ । त्यो सहजतामा ध्यानले ल्याएको छ । आफूलाई आफैँ क्रान्तिकारी उद्घोष गर्दै संसारै परिवर्तन गर्न खोज्ने मानिस। तिमी भनेको यो बिराटकै रुप हौँ । तिमीले चाहेर मात्र केही हुन्न, अस्तित्वले तिम्रो चाहना स्वीकारे मात्रै सम्भव हुन्छ भन्ने बोध गराउनका लागि पनि ध्यानले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने रहेछ भन्ने मैले बुझेकी छु ।

त्यसैले सानो बच्चामा भएको रहेको नौँ दिनमा नौँ रंगको फूल खोजेर पूजा ठिक पार्ने, हरेक दिन नयाँ–नयाँ लुगा लगाएर साथीहरूलाई देखाउदै मख्ख पर्न खोज्ने मन जस्तै अहिले मेरो मन भएको छ ।

फरक यति मात्रै हो कि पहिले म बाहिर नौँ रंगका फूल खोज्दथे अचेल आफैँभित्र नाैँ रंगका फूल खोज्छु । पहिले नौँ दिन नाैँ थरिका लुगा लगाएर रमाउने मन अहिले त्यो लुगा लगाउने शरीरलाई नौँ प्रकारले विश्राम दिन खोज्छ । गाउँमा साथीभाइसँग खेलेर फुर्किने मन अहिले आफूलाई मौनताभित्र डुबाएर मनका क्रियाकलाप साक्षी भावले हेर्दै पुलकित हुन खोज्छ ।

त्यसैले मेरो लागि दशैँको बिदा साह्रै महत्वपूर्ण छ । किन भने यसले वर्ष भरी काम गरेर थाकेको मेरो शरीर अनि अरुका कुरा सुन्दासुन्दै, बेथिति देख्दादेख्दै थाकेको मेरो मन र हृदयलाई चार्ज गर्ने मौका दिन्छ ।

म दशैँ निम्न प्रकारले मनाउन अनुरोध गर्छु
१.सकेसम्म प्रकृतिलाई प्रेम गरेर, नयाँ फूल रोप्छु, गमला सिंगार्छु । बर्खाले जमाएको हिलोलाई व्यवस्थापन गर्न खोज्छु ।
२.प्रकृतिमा जान्छु बस्छु अनि रमाउँछु । यसका लागि मलाई मेरो सौराहा आश्रम ले साथ दिन्छ । सौराहा ओशो गंगोत्री धाम जान्छु ।
त्यहाँको प्रकृति, चिरबिरचिबिर चराको आवाजको साथमा ओशोको उपस्थिति अनुभूत गर्दै अस्तित्व बात झरी राख्ने ऊर्जा को रसस्वादन गर्दै आफूलाई अर्को वर्ष भरी काम गर्न सक्ने गरी ऊर्जा भर्छु । हामीलाई प्रकृतिबाट प्राप्त हुने ऊर्जाले फूर्तिलो बनाउँछ । सकारात्मक बनाउँछ । प्रकृतिलाई प्रेम गर्नु, प्रकृतिमा रमाउनु, समय बिताउनु हाम्रो मस्तिष्कलाई ऊर्जावान बनाउने सबभन्दा राम्रो औषधि हो । त्यसैले म बिदाको समयमा सकेसम्म बढी प्रकृतिमा रमाउँछु ।
३. जहिले पनि हतार गर्ने बानी बसी सकेको हुँदा मेरो शरीर, मन र मस्तिष्कलाई आराम चाहिन्छ । आराम भनेको सुतेर वा खाएर मात्रै हुँदैन । शरीरलाई चलाउने, मनको पार उन्मनमा पुग्ने रमाउने अनि विश्राममा पुग्ने कार्य गर्नु जरुरी हुन्छ । त्यसैले म दशैँ बिदामा योगासन (हुन् त योगासन् निरन्तर हुनु पर्दछ, म गर्छु पनि) अलि विस्तारमा गर्छु ।
अनि ध्यान गर्छु, विश्राममा केहि नगरी शरीरलाई पूर्ण शिथिल बनाउँदै प्रवेश गर्छु ।
४.खानपानमा विशेष ध्यान दिन्छु । सकेसम्म समयमा खाने, घरको खान मात्रै खाने, बेलुका नखाने जस्ता कामहरु गर्छु ।
५.अनि किताब पढ्ने, मनमा लागेको लेख्ने जस्ता कार्य गर्न दशैँले मलाई अवसर दिन्छ ।

मेरो विचारमा दशैँ एउटा अवसरको आफूले आफैँलाई समय दिने, माया गर्ने अनि आफैँसँग रमाउने । पृतिसत्तामक सोच भएको हाम्रो मुलुकमा महिलालाई यो अवसर बिरलै मिल्छ । दशैँमा त झन पटक्कै मिल्दैन । सबैलाई खान पकाउनु भाडा माझ्नु, बालबच्चा र घरको अरुको सेवा गर्नुमा नै दिन वित्छ। साँच्चै भन्नुपर्दा दसैँमा महिला झन् धेरै थाक्छन् ।

खानेकुरा धेरै खाएर परिवारका सदस्य लगायत आफ्नो पनि स्वास्थ्य खराब हुन्छ । बच्चासँग गुणस्तरीय समय बिताउन पाइन्न । त्यसैले अब हामीले दशैँ मनाउने तरिकामा परिवर्तन ल्याउनु जरुरी छ ।

आफू आफ्नो परिवार र बच्चाहरुसहित प्रकृतिमा रमाउने, सरल र सहज खाने कुरा खाँदै, मनलाई शान्त बनाउन ध्यान गर्दै, देवीस्थान जाँदै (तर धार्मिक भएर होइन धार्मिकतामा विश्वास गरेर) कहिँ बाहिर गएर मनाउँ। यसले तन र मन दुवैलाई स्वस्थ्य बनाउँदै, तनाव व्यवस्थापन गर्दै हामीलाई अर्को वर्षका लागि तयार गर्छ ।


  •  
  •  
  •