दार्चुला प्रशासनले महाकालीमा बेपत्ता धामीको विषयमा भारतीय पक्षसँग माग्यो जानकारी

122
  •  
  •  
  •  


काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाहीका लागि भारतीय पक्षसँग माग गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले शनिबार एक विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाई नेपाललाई जानकारी गराउन र कारवाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरेको बताए ।

‘उक्त घटनाका सम्बन्धमा अनुसन्धान एवं छानबिन भइरहेको र सत्यतथ्य पुष्टि भइनसकेकाले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका भ्रामक समाचार प्रकाशन नगर्न सम्वद्ध सबैमा अनुरोध छ’,विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको वास्तविकता बुझ्न सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी सम्मिलित टोली घटनास्थलमा खटिएको र हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउँदै घटनाको उक्त टोलीबाट जानकारी प्राप्त हुनासाथ त्यसलाई सार्वजनिक गरिने जनाएको छ ।


  •  
  •  
  •