काठमाडौं २१ माघ । कोल्टी-३ का एमाले कार्यकर्ता ताराचन्द्र रेग्मीलाई माओवादी कार्यकर्ताले अपहरण गरी ०६० चैतमा हत्या गरे । चार वर्षपछि एमाले नेता कर्णबहादुर थापाले चिहान उत्खनन गरी उनको खप्पर झिकेर सदरमुकाम मार्तडी ल्याए ।
त्यतिन्जेलसम्म परिवारले सामाजिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेकाले कंकाल बुझ्न मानेन । त्यसपछि पार्टी कार्यालयको दराजमा राखिएको खप्पर सात वर्षदेखि त्यहीं छ । अधिकारकर्मीहरू बेला-बेला भाइ बलदेवसँग ताराचन्दको हत्याबारे सोधपुछ गर्छन् । खप्परले परिवारलाई झन् झस्काइदिन्छ ।
एमालेका जिल्ला उपसचिव ताराचन्द्रलाई चन्दा नदिएको, कोल्टीमा सेना राखेको लगायत आरोप लगाएर माओवादीले हत्या गरेको थियो । युद्धविरामका अवधिमा गरिएको हत्या विवरणबारे सयौंलाई फेहरिस्त सुनाउँदासुनाउँदै थाकेका भए पनि भाइ बलदेव अधिकारकर्मीसँग न्याय दिलाउन आग्रह गरिरहन्छन् । एमालेको ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’ मा गाउँ जान लाग्दा माओवादीले ०६० फागुन २३ मा कुल्देवमाडौंको मौरेबाट ताराचन्द्रलाई नियन्त्रणमा लिई ०६० चैत १२ मा विज्ञप्तिमार्फत ‘सफाया गरेको’ बताएको थियो ।
‘बाजुराको छतारासँग जोडिएको अछामको ऋषिदहमा नियन्त्रणमा राखेका उनलाई अगाडि दगुर्न लगाए र पछाडिबाट गोली हाने,’ बाजुराका एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले भने, ‘गोलीले मृत्यु नभएपछि टाउकामा ढुंगाले थिचेर हत्या गरेको खुल्न आयो ।’ ०६३ सालमा एमाले जिल्ला सचिव रहेका बेला कर्णबहादुर थापाले रेग्मीको हत्या गरेको र शव गाडेको स्थान खोजे । आफैंले चिहान खोतले । त्यस क्रममा थापासँगै रहेका एमाले कार्यकर्ता रामबहादुर बानियाँले भने, ‘खोतल्दै जाँदा अस्थिपञ्जरका साथै ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’ लेखिएको ब्यानरसमेत भेटियो । त्यही आधारमा अस्थिपञ्जर उनकै हो भन्ने निक्र्योलमा पुग्यौं ।’
०५७ तिरै कोल्टी क्षेत्रमा माओवादी प्रभाव देखिन थालिसकेको थियो । ताराचन्द्रले माओवादीलाई पटक-पटक चन्दा दिए । पछिल्लो पटक ३० लाख रुपैयाँ चन्दा मागियो । त्यति दिन नसकेपछि उनलाई खोज्दै आएका माओवादीले उनका दुई श्रीमतीलाई निर्घात पिटे । रेग्मी गाउँ गएका बेला अपहरण गरी हत्या गरे । एमाओवादी कार्यकर्ता भने यतिबेला घटनालाई उचाल्न नहुने बताउँछन् । ‘रेग्मीको हत्या पार्टीको निर्देशनमा भएको हो,’ स्थानीय एमाओवादी नेता सहदेव बोगटी भन्छन्, ‘सत्यतथ्य खोज्न पार्टीले पूरा सहयोग गर्छ ।’
एमाले पार्टी कार्यालय बाजुराको दराजभित्र ७ वर्षदेखि थन्किएको ताराचन्द्र रेग्मीको अस्थिपञ्जर । अर्जुन शाह/कान्तिपुर