जसले गरिन् ७२ करोड दान

76
  •  
  •  
  •  

काठमाडौं ३ भदौ ।
दुई साताअघि देवघाटस्थित ओमशान्ति मैयाँदेवी ट्रस्ट पुग्दा त्यसकी सञ्चालक ८७ वर्षीया मैयाँदेवी श्रेष्ठ दायाँ खुट्टाले चुलेसी च्यापेर आँप, भुइँकटहर काट्दै आगन्तुक, शुभेच्छुकलाई खुवाइरहेकी थिइन् । ‘बाल्यकालदेखिकै चुलेसी हो,’ उनले भनिन्, ‘यहाँ आउनेलाई दिनभरि यसरी नै खुवाइरहन्छु ।’

भवनको भुइँतलामा रहेको उनको कोठा आगन्तुकले भरिभराउ थियो । जीवनकालमा उनले सहयोग गरेका व्यक्ति, धार्मिक व्यक्ति, प्रशासक, समाजसेवी र राजनीतिकर्मीको भीड उनी जहाँ हुन्छिन् त्यहीं लागिरहन्छ । ‘खाली कागजमा आवश्यकता लेखेर दिए हुन्छ,’ उनका निकट प्रभातकुमार जोशीले भने, ‘खाली हात फर्कनु पर्दैन ।’

मैयाँदेवीले आफूसित रहेको पुख्र्यौली सम्पत्ति बेचेरै दान गर्दै आएकी हुन् । परिवार स्रोतका अनुसार अहिलेसम्म उनका उद्योग, कलकारखाना, व्यापार केही छैन । परिवारमा दाइ कमलप्रसाद र उनी मात्र जन्मिए । त्यसैले पुख्र्यौली सम्पत्ति २ भाग लाग्यो । उनले आफ्नो भागमा परेको सम्पत्ति बेचेर दान गर्दै आएकी हुन् । तनहुँको बन्दिपुरमा जन्मेको १ महिनामै उनको परिवार चितवन बसाइँ सरेको हो । त्यसबेला नारायणगढमा उनको समेत ४ घर मात्र थिए । ‘९० सालको भुइँचालोमा ५ वर्षकी थिएँ,’ उनले भनिन्, ‘नारायणगढमै थिएँ ।’ समाजसेवालाई निरन्तरता दिने उद्देश्यले उनकै संरक्षकत्वमा १ वर्षअघि मैयाँदेवी ट्रस्ट नेपाल स्थापना गरिएको थियो ।

गत वर्ष भरतपुर उपमहानगरपालिका ३ स्थित ८ करोड मूल्य बराबरको ३ तले घर र जग्गा उनले ट्रस्टको नाममा पास गरिदिएकी थिइन् । आगामी दसैंमा विशेष कार्यक्रम आयोजना गरेर भवन ट्रस्टलाई हस्तान्तरण गर्ने योजना थियो । तर गएको साता उनी अचानक बिरामी परिन् । एकातिर बुढ्यौलीले गाल्यो । अर्कोतिर बिरामीले च्याप्यो । त्यसैले बुधबार नै ट्रस्ट भवन हस्तान्तरण कार्यक्रम गरियो । मञ्चमा बसेकी उनलाई बल गरेर उचाल्नुपरेको थियो । ट्रस्टका महासचिव तथा श्रेष्ठका धर्मपुत्र टंकनाथ पौडेलले थप उपचारका लागि बिहीबार उनलाई राजधानी लैजाने बताए ।

हस्तान्तरण कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादव अतिथि थिइन् । उक्त अवसरमै श्रेष्ठले ट्रस्ट चलाउन २ करोड नगदको चेकसमेत प्रदान गरिन् । उनले घरको चाबी र जग्गाको लालपुर्जा ट्रस्ट अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई शिक्षामन्त्री यादवमार्फत हस्तान्तरण गरिन् । गत वर्ष ट्रस्टको नाममा जग्गा पास गरिदिएकी थिइन् । उनी ट्रस्टकी संरक्षक हुन् । उनले मुलुक र विदेशमा सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएकी छन् । ‘यो धन मेरो होइन, सबै ईश्वरको हो,’ उनले भनिन्, ‘मर्दा केही लानु छैन, सबैको सेवा गर्नका लागि भनेर सम्पत्ति सबै ट्रस्टलाई दिएको छु । बाँच्दिनँ जस्तो लाग्यो । त्यही भएर ट्रस्टलाई घर दिएर रिबन काट्न लगाएँ ।’

श्रेष्ठले आफ्नो सबै सम्पत्ति ट्रस्टको नाममा भएको बताइन् । भवनमा उनले जीवनमा पाएका पुरस्कार, सम्मानपत्र, विभिन्न गतिविधि समेटिएका तस्बिर र उनका महत्त्वपूर्ण सामग्री संग्रह गरिएको छ । त्यसले उनका बारेमा जान्नेलाई मद्दत पुग्ने ट्रस्टले जनाएको छ । कार्यक्रमका सहभागीले उनले समाजसेवामा पुर्‍याएको योगदानबारे चर्चा गरे । सयौं संघसंस्थाबाट सम्मानित भइसकेकी उनी अविवाहित हुन् ।
७२ करोड दान

महासचिव पौडेलका अनुसार ट्रस्टबाहेक सामाजिक एवं धार्मिक संघसंस्था, पाटीपौवा र धर्मशालामा श्रेष्ठले १२ करोड सहयोग गरेकी छन् । भरतपुरमा मैयाँदेवी कलेज स्थापना गरेकी छन् । शिक्षा क्षेत्रमा मात्र १० करोड, कांग्रेसको वडा, जिल्ला र केन्द्रीय कार्यालय भवन निर्माणार्थ जग्गा तथा नेता कार्यकर्तालाई गरी ६ करोड ५० लाख सहयोग गरेकी छन् । ‘विभिन्न व्यक्तिलाई मात्र करिब ३३ करोड ५७ लाख सहयोग गर्नुभयो,’ उनले भने, ‘उता देवघाटको भौतिक सुविधासम्पन्न ओमशान्ति मैयाँदेवी ट्रस्ट ०५४ सालमा हस्तान्तरण गरिएको हो ।’ उनले संघसंस्था र व्यक्तिलाई न्यूनतम १ लाखदेखि १ करोडसम्म सहयोग गरेकी छन् ।

श्रेष्ठले बेलायत, अमेरिका, बैंकक, बनारस भ्रमण क्रममा २२ लाख रुपैयाँ बराबरको सहयोग गरेकी छन् । उनकै चाहनामा ट्रस्ट स्थापना गरिएको हो । ०७१ वैशाख १९ गते विधिवत् रूपमा जिल्ला प्रशासनमा दर्ता गरी स्थापना गरिएको ट्रस्टले मुख्य रूपमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने उद्देश्य छ । ३८ उद्देश्य राखेर स्थापना गरिएको ट्रस्टले महिलाविरुद्ध हुने घरेलु हिंसा अन्त्य गर्न जनचेतना जगाउने, पिछडिएका वर्गको हितमा काम गर्ने, दुर्गम ग्रामीण क्षेत्रका विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने कुरा प्रमुख प्राथमिकतामा राखेको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •