दाङ, २३ भदौ (ओएनएस) : दाङ युवा मञ्चको आयोजनामा आउँदो असोज ६ गतेदेखि १२ गतेसम्म घोराही क्षेत्रमा विशेष सामाजिक अभियान सञ्चालन हुने भएको छ । दाङमा क्रियाशिल सबै जसो सामाजिक संघसंस्था र संघ, संगठनहरुको सहभागितामा सञ्चालन गर्न लागिएको विशेष सामाजिक अभियानकाक्रममा घोराही बजार, अस्पताल, मठमन्दिरको सरसफाई, खोलाहरुको कज्वेयको सरसफाई, विभिन्न खेलकूदप्रतियोगिता, विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण, असहाय बृद्वबृद्वालाई सहयोग सामग्री वितरण, अन्तक्र्रिया र शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।
यसका लागि कार्यक्रमलाई व्यस्थित बनाउन नगरपालिका, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, जिल्ला बार, त्रिभुवन नगर जेसीज र जिल्लाका राजनीतिक दलहरुका युवा, विद्यार्थी संगठनहरु, सामाजिक संघसंस्थाहरु, शिक्षण संस्था एवं विभिन्न उद्योग, व्यवसायीक फर्महरुलाई समेत अभियानको सहयात्री बनाउनका लागि युवा मञ्चले मंगलबार विहान ८ बजे घोराही स्वर्गद्धारी एफएम रोडस्थित एट वक्लक रेष्टुरेन्टमा छलफल कार्यक्रमको आयोजना गरेको छ । छलफल कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुको सल्लाहसुझावका आधारमा सामाजिक अभियान कार्यक्रमको कार्यतालिका बनाइने दाङ युवा मञ्चका सञ्चार संयोजक सुवास डिसीले जानकारी दिए ।
आउँदो असोज ६ गते देखि सञ्चालन हुन लागि रहेको विशेष सामाजिक अभियानको बारेमा सरोकारवालाहरुको सुझाव संकलन गर्न हुन लागि रहेको छलफल कार्यक्रममा उपस्थितिका लागि दाङ युवा मञ्चले सबैसंग अनुरोध गरेको छ । मञ्चका संयोजक सविन प्रियासन र सदस्य सचिव नरेन्द्र पुनले विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थित हुन सबैमा अनुरोध गरेका छन् ।