कारभित्र मृत भेटिएका तीन बालकको शव अभिभावकले बुझे

117
  •  
  •  
  •  


काठमाडौं । दाङमा एउटै कार भित्र मृत भेटिएका तीन बालकको शव १३ दिनपछि अभिभावकले बुझेका छन्।
तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा भएको वार्तापछि पीडित पक्षले शुक्रबार बेलुका तीन बालकको शव बुझेका हुन्।

मृतक तीन बालकका अभिभावकलाई तत्काल किरिया खर्चवापत जनही २५ हजारका दरले उपलब्ध गराउने, कार्यपालिकाबाट पास गरि थप एक लाख उपलब्ध गराउने सहमति भएको हो ।

त्यस्तै राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकलाई जनही ५ लाख क्षतिपूर्ति माग गर्ने, प्रत्येक पीडित परिवारका एक जना सदस्यलाई स्थानीय पालिकाले क्रमश रोजगारीको ब्यवस्था गर्ने, पीडित परिवारका अन्य बालबालिका मध्य एक/एक जनालाई प्लस टुसम्म पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति पनि भएको छ।

त्यस्तै घटनाको अनुसन्धान र छानविन निष्पक्ष रुपमा गरेर दोषीलाई कारबाही गर्ने, पक्राउ परेका गाडी धनी र चालकलाई अदलातमा नपुर्‍याइ छोड्न नपाइने जस्ता सहमति भएको भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मालगायतको सहभागितामा पीडित पक्षसँग भएको छलफलमा उक्त सहमति भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र वैशाख १८ गते बेलुका तीन बालक मृत अवस्थामा फेला परेका थिए।

तुलसीपुर ६ बरूवाका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।


  •  
  •  
  •