सहमति जुटाउन शुक्रबारसम्मको सीमा

132
  •  
  •  
  •  

काठमाडौं २२ मंसिर ।
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले माघ ८ मा संविधान ल्याउन विवादित विषयमा आगामी शुक्रबारभित्र सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेतालाई समयसीमा तोकेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार छुट्टाछुट्टै भेट गरी नेम्बाङले समयसीमा दिएका हुन्।

माघ ८ आउन डेढ महिनाभन्दा कम समय बाँकी रहे पनि दलहरूबीच सहमति जुट्न नसकेपछि नेम्बाङले राजनीतिक भेटघाट तीव्र पारेका छन्। ‘अब एकअर्काबीच आरोपप्रत्यारोप बन्द गरेर २६ गतेभित्र सहमति गर्नुहोस् भनेर तीनैजना शीर्ष नेतासँग आग्रह गरेको छु’, नेम्बाङले भने, ‘२६ गतेसम्म सहमति भयो भने पनि नियम निलम्बन र प्रक्रिया छोट्ट्याएर माघ ८ मै संविधान ल्याउनुपर्ने कुरा राखेको छु।’

नेम्बाङले माघ ८ मा संविधान ल्याउन संशोधित कार्यतालिकाको प्रारूप र कुनकुन नियम निलम्बन गर्ने भन्ने जानकारी पनि नेताहरूलाई गराएका थिए।

एमाओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवेदन दिएपछि मंगलबार संविधानसभा बैठक बस्दैछ। नेम्बाङले उक्त प्रतिवेदनमाथि २६ गतेदेखि संविधानसभामा छलफल गराउने तयारी गरेका छन्। ‘दुई घन्टामा सहमति गर्छौं भनेर नेताहरूले भन्नुभएको थियो, २६ गतेसम्म कैयौं घन्टा हुने भएकाले त्यतिबेलासम्म सहमति गर्न तीनै नेतासँग आग्रह गरें’, उनले भने।

नेम्बाङले एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहाललाई उनीहरूकै निवास र प्रधानमन्त्री कोइरालालाई प्रधानमन्त्री निवासमा भेटेका थिए। उनले संवाद समितिको प्रतिवेदन संविधानसभामा छलफलपछि कसरी अगाडि बढाउने भन्नेमा पनि सहमति गर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए।

कांग्रेस-एमालेले संविधानसभामा छलफलपछि नै त्यसबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन्। एमाओवादी र मधेसी दलले भने प्रतिवेदनमाथि छलफल नगरी फेरि संवाद समितिमा पठाउनुपर्ने बताउँदै आएका छन्।

सभाध्यक्ष नेम्बाङले संविधान जारी गर्ने समयसीमा नजिकिँदै गएकाले सरकारका तर्फबाट पनि अन्य दलसँग छलफल र वार्ता घनीभूत बनाउन प्रधानमन्त्री कोइरालासँग आग्रह गरेका थिए। ‘संविधान निर्माणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने समय आएको छ।

सरकारले अविलम्ब दलहरूसँग छलफल र वार्ता गर्नुप:यो भनेर प्रधानमन्त्रीलाई भनेको छु’, उनले भने। जबाफमा कोइरालाले माघ ८ मा संविधान ल्याउन सरकार कटिबद्ध रहेको भन्दै वार्ता सुरु गर्ने आश्वासन दिएका थिए।

एमाले अध्यक्ष ओलीले माघ ८ मा संविधान ल्याउन सत्तापक्ष इमानदार भएर लागेको तर एमाओवादीले भाँजो हाल्ने काम गरिरहेको नेम्बाङलाई बताएका थिए।
एमाओवादी अध्यक्ष दाहालले माघ ८ मा संविधान ल्याउन आफ्नो दल इमानदारीपूर्वक लाग्ने आश्वासन दिएका थिए।

उनले एकअर्काबीच आपेक्ष लगाउन नहुनेमा आफू सहमत रहेको भन्दै अन्य नेतालाई पनि यस विषयमा सम्झाउन नेम्बाङसँग आग्रह गरेका थिए। त्यसअघि नेम्बाङले कांग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेललगायतका नेतासँग छलफल गरेका थिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •