साझा सहमति जुटाउन कार्यदललाई कठिन

148
  •  
  •  
  •  

काठमाडौं १३ पुस (ओएनएस) : प्रमुख दलले गठन गरेको कार्यदलले संविधानका विवादित विषयबारेको प्रतिवेदन आज शीर्ष तहमा बुझाउने भएको छ । हिजोसम्म बुझाउने तयार भएपनि एक दिन ढिलो गरी आज बेलुकासम्म शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। कार्यदलले साझा प्रस्ताव तयार गर्न नसकेपनि विभिन्न विकल्प राखेर प्रस्ताव तयार गर्दैछ । कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले सकेसम्म साझा धारणा बनाउने नभए विकल्प सहित प्रतिवेदन पठाउने जानकारी दिए ।

उनले अहिलेसम्म कार्यदलले सहमति भने जुटाइ नसकेको बताए । सबैभन्दा बढी विवाद राज्य पुनःसंरचनामै छ। झापा, मोरङ, सुनसरी, चितवन, कैलाली र कञ्चनपुर जिल्लालाई नयाँ संरचनामा कसरी समावेश गर्ने भन्ने विषयमा कार्यदलले विकल्प अघि सारेर छलफल गरेको छ। निर्वाचन प्रणालीमा भने एमाओवादी र मधेसवादी दलले तल्लो सदनमा कांग्रेस र एमालेले अघि सारेको प्रस्ताव मान्य नहुने अडान राख्दै आएका छन्। कांग्रेस–एमालेले अघि सारेको प्रस्तावमा तल्लो सदन प्रत्यक्ष निर्वाचित हुनुपर्ने उल्लेख छ।

कर्णका अनुसार आज कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाउने गरी तयारी भने थालेको छ। ‘हामीले सम्भावना राखेर नै छलफल गरेका छौं, कर्णले  भने, ‘तर, कुनै पनि विषयमा सहमति भइसकेको छैन। बेलुकासम्म प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं।’


  •  
  •  
  •