काठमाडौं २२ मंसिर ।
ललितपुर उपमहानगरपालिका-१० को थापाथली-वाग्मती पुलनजिकै बायाँपट्टि कृष्ण मन्दिर छ । वाग्मती किनारसँग जोडिएको कुपन्डोलको त्यो मन्दिर पुख्र्यौली थलो कालीकोट भए पनि तीन-चार पुस्तादेखि यतै बस्दै आएका विष्टहरूको निजी गुठीभित्र पर्छ । त्यहाँ गुठीको २ रोपनी १ आना २ पैसा जग्गा छ । तर, मन्दिरले त्यसको आधा हिस्सा पनि चर्चेको छैन । त्यही गुठीको जग्गाको बायाँ छेउमा ४ आना १ पैसा जग्गामा गुलाबी रंगको पाँचतले एउटा भव्य घर छ । बाहिरबाट हेर्दा भव्य देखिए पनि त्यस घरले दिएको सकसको कथाचाहिँ निकै टीठलाग्दो छ ।
१५ मंसिरमा औपचारिक रूपमा विभाजन भएको नेकपा-माओवादीको नेवाः राज्य समिति, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी, मगर राष्ट्रिय मुक्ति मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, राष्ट्रिय युवा जनस्वयंसेवकका अनगिन्ती बोर्ड टाँगिएका छन् घरभरि । १६ मंसिर अपराह्न साढे १ बजे नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापालगायत नेताहरू उक्त घरसँगै जोडिएको जग्गामा बनाइएको ‘वैकुण्ठ-चेत स्मृति सांस्कृतिक भवन’मा कार्यकर्ता प्रशिक्षणमा व्यस्त थिए । उनीहरू निवर्तमान सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको पार्टी विभाजनलाई निरर्थक साबित गराउने प्रयत्नमा आफ्नो शक्ति खर्च गर्दै थिए ।
अगाडिपट्ट िगुठीको जग्गा लिएर ठडिएको त्यही घरलाई आफ्नो केन्द्रीय मुकाम बनाएका तीनवटा पार्टी पटक-पटक विभाजित भएका छन् । एकीकृत नेकपा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य मातृका यादवले २९ माघ ०६५ मा गरेको ‘विद्रोह’लाई समेत गणना गर्ने हो भने कुनै समय त्यस घरमा आफ्नो मुख्यालय बनाएका पार्टी पाँचपटक विभाजित भइसकेका छन् । शान्ति प्रक्रियामा आएलगत्तै सुरुमा त्यसै घरलाई मुख्यालय बनाएको माओवादी तीनपटक विभाजित भइसकेको छ । पहिलो विभाजनको नेतृत्व यादव र दोस्रोको नेतृत्व वैद्यले गरेका थिए । तेस्रो विभाजनको अगुवाइचाहिँ चन्दले गरेका छन् । चन्दले कपिलवस्तु भेला गर्नुअघि वैद्य माओवादीको नेतृत्वले त्यसै घरमा बैठक गरेको थियो ।
२१ फागुन ०५४ मा वामदेव गौतम, राधाकृष्ण मैनाली, सीपी मैनालीलगायत १० जना नेतालाई तत्कालीन पार्टी नेतृत्वले कारबाही गरेपछि नेकपा एमाले विभाजित भयो र सहाना प्रधान अध्यक्ष, वामदेव गौतम महासचिव रहेर नेकपा माले गठन भयो । गठन भएको केही समयपछि मालेले त्यही घरलाई केन्द्रीय कार्यालय बनाएको थियो । नारायण कोइराला नामका व्यापारीमार्फत गौतमका विश्वासपात्र बलराम बाँस्कोटाले उक्त घरलाई मालेको मुख्यालय बनाउने चाँजोपाँजो मिलाएको घरधनी राधेश्याम श्रेष्ठ बताउँछन् । करिब तीन वर्ष मुख्यालय बनाएको माले त्यही घरमा बस्दा दुई फ्याक भयो । गौतमको नेत ृत्वमा एउटा समूह एमालेमै फर्कियो । अर्को समूहको नेतृत्व गरेर सीपी मैनालीले नेकपा मालेलाई नै निरन्तरता दिए । एकतासँगै मैनालीले मालेको मुकाम सारे ।
त्यसपछि उक्त घरमा करिब दुई वर्ष पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी बस्यो । यो ०५९-६१ सालतिरको समय थियो । त्यही घरमा बस्दाबस्दै राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पायो भने हाल राप्रपा नेपालका अध्यक्ष कमल थापाको अगुवाइमा पार्टी दुई टुक्रा भयो । विभाजनको ठक्करले राणाले त्यहाँबाट पार्टी कार्यालय नै सारे । शान्ति प्रक्रियामा आएलगत्तै त्यस घरलाई माओवादी मुकाम बनाउने कामको अगुवाइ मातृका यादव र कृष्ण केसीले गरेका थिए । अन्ततः यादव आफैँ एमाओवादीबाट छुट्टएि ।
०६३ सालयता विभिन्न चरणमा माओवादी बस्दै आएको भए पनि अहिलेसम्म भाडा नदिएको घरधनी श्रेष्ठको दुखेसो छ । माओवादीले डेरा जमाउँदा श्रेष्ठ त्यस घरमा बस्दैनथे । पछिल्लो समयमा भने उनी त्यही घरमा बस्न थालेका छन् । “यस घरका कारण मैले पाउनुसम्म दुःख पाएको छु । पशुपतिशमशेरजस्ताले पनि थुप्रै महिनाको भाडा नदिई कार्यालय सारे,” श्रेष्ठ भन्छन्, “सुरुमा माओवादीले एउटा फ्ल्याट लिन्छौँ भनेका थिए, पछि सिंगै घरमा बसे । तर, अहिलेसम्म भाडा दिएका छैनन् ।”
यता श्रेष्ठबारे जानकार भने बैंकको ऋण र विष्टसँगको कारोबार डिसमिस पार्न उनले पहँुचवालाहरूलाई सित्तैँमा घर भाडामा दिने गरेको सुनाउँछन् । घटनाक्रमले पनि यही पुष्टि गरेको छ । श्रेष्ठको घरमा अड्डा जमाएकै आडमा माओवादीले गुठीको जग्गामा समेत सित्तैँमा कब्जा जमाइरहेको छ । त्यसो त पार्टी कार्यालयभन्दा अघि उक्त घरमा कार्यालय राखेका खानेपानी संस्थान, भूमिसुधार, श्रम विभाग तथा एभरेस्ट एकेडेमी नामको निजी उच्च मावि पनि लामो समय टिक्न सकेका थिएनन् ।
दाबी आ-आफ्नै
विभिन्न राजनीतिक पार्टी विभाजित भएको यो घर करिब २० वर्षदेखि निकै ठूलो किचलोमा छ । कागजी रूपमा काभ्रे, दाप्चाका राधेश्याम श्रेष्ठको स्वामित्वमा छ, यो घर । तर, रोचक के भने २ चैत ०४३ मा १६ हजार मूल्य राखी ४ आना १ पैसा जग्गा बकसपत्र गरिदिएका पूर्वमहान्यायाधिवक्ता प्रेमबहादुर विष्टसँग ‘घर मालिक’ श्रेष्ठको बोलचाल त छैन नै, राष्ट्रिय वाणिज्य बैंक र अदालती आदेश अनुसार दोहोरो रोक्कामा छ यतिबेला । श्रेष्ठले बैंक र विष्टलाई मोटै रकम चुक्ता नगरी त्यो घर बेचबिखन गर्न पाउँदैनन् । तर, कति रकम भन्ने विवाद कायमै छ । जस्तो कि, २३ माघ ०६० मा बैंकले ‘कन्या कुमारी इन्टरप्राइजेज’ले कर्जाको साँवा-ब्याज गरी २५ लाख रुपियाँ चुक्त गरे अरू मिनाहा गर्ने’ पत्र पठाएको थियो ।
त्यस बेला उक्त रकम बुझाउन जाँदा बैंकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै लिन नमानेको र अहिले त्यसयताको भाडाबापतको रकमसहित बुझाउनुपर्ने सर्त तेस्र्याएको श्रेष्ठ बताउँछन् । “बैंकलाई कति चुक्ता गर्ने भन्ने अन्योल नै छ । ०६० यता भाडाबापत लाखौँ रुपियाँसहित बुझाउनुपर्छ भन्ने सर्त तेस्र्याइरहेका छन्,” श्रेष्ठ भन्छन्, “मैले एक रुपियाँ पनि भाडा पाएको छैन । माओवादीसँग बुझ्दा हुन्छ । पैसा तिर्न जाँदा लिन मान्नुभएन । त्यसैले ०६० सालको बैंकको निर्णय अनुसार मात्र बुझाउँछु भनिरहेको छु । दुई-तीन महिनायता बैंकले सम्पर्क गरेको छैन ।”
उता पूर्वमहान्यायाधिवक्ता विष्टसँग पनि श्रेष्ठले १ भदौ ०५५ मा २० लाख रुपियाँ ऋण लिएको कागजात गरेका छन् । यस विषयमा जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा चलेको थियो । अन्ततः सर्वोच्च अदालतले श्रेष्ठले रकम तिर्नैपर्ने फैसला गरेको छ । उनले सर्वोच्च अदालतको आदेशलाई समेत अस्वीकार गरेको भन्दै अदालतको मानहानिविरुद्ध पनि जरिवाना तिर्नुपर्ने फैसला भएको छ । “मबाट पटक- पटक गरी लिएको २० लाख रुपियाँ ऋणको साँवा र त्यसको १ लाख ५० हजार ब्याजको कागजात गरेको थियो,” दुई कार्यकाल महान्यायाधिवक्ता भएका ७८ वर्षीय विष्ट भन्छन्, “छोराजत्तिकै विश्वास गरेको उसले रकम नदिएपछि अदालतमा मुद्दा हालेँ । मुद्दा मैले जितेको छु । तर, अझै पैसा पाइएको छैन ।”
कसैबाट ऋण लिएर १० वर्षसम्म नदिए दोब्बर हुने कानुनी व्यवस्था छ । १६ वर्षसम्म पैसा नतिरेकाले श्रेष्ठले आफूलाई ४० लाख रुपियाँ बुझाउनुपर्ने विष्टको दाबी छ । भन्छन्, “पैसा पछि देला भन्ने विश्वासमा पहिल्यै जग्गा पास गरिदिएको, दुईपटक महान्यायाधिवक्ता भएको मलाई त यसरी दुःख दिइरहेको छ भने अरूलाई कति दुःख दिएको होला ?”
कुनै समय श्रेष्ठ विष्टकै घरमा दुईवटा सटर भाडामा लिएर हार्डवेयर पसल गर्थे । त्यही दौरान उनीहरूको सम्बन्ध लाखौँ रुपियाँको आर्थिक कारोबारसम्म झाँगिएको थियो । पछिल्लो समयमा त्यही कारोबारमा विवाद बढ्दै गएपछि उक्त घर किचलोको भुमरीमा फसेको हो । परिणाम, ०५५ सालदेखि नै बैंकसँगको ऋण-विवाद मिलाइदिन्छु भन्दै विभिन्न पार्टीहरूले त्यस घरलाई आफ्नो मुख्यालय बनाउँदै आएका छन् । तर, पार्टी मुख्यालय बनाउँदा कसैलाई नफापेकाले अशुभ घर भन्नेहरू पनि छन् ।
नेपाल साप्ताहिकबाट