काठमाडौं, १५ कात्तिक (ओएनएस) :
संविधानसभाले दिएको अन्तिम मौका पनि दलहरुले चुकाएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका अन्तरबस्तुमा सहमति जुटाउन आजसम्मको अन्तिम मौका दिएका छन् । राजनीतिक सम्वाद तथा सहमति समितिका नाममा दिएको सहमतिको मौका चुकाउन लागेका दलहरु छलफलमा भने व्यस्त छन् । आजसम्म सहमति हुन नसके प्रक्रियामा जान सचेत गराएका छन् ।
तर प्रक्रियामा जाने विषयमा पनि दलहरुबीच सहमति जुट्न सकेका छैन । शुक्रबार मात्रै सभाध्यक्ष नेम्वाङले ध्यानआकर्षण गराएका छन् । शीर्ष नेताहरुले फत्ते गर्न नसेकेको काम उनीहरुले तोकेका प्रतिनिधि सम्मिलित अर्को समितिबाट हुन नसक्ने नेम्वाङको विश्लेषण छ । अघिल्लो पटक संवाद समितिलाई म्याद थप्ने क्रममा केही सभासद्ले सहमति वा प्रश्नावली बनाउन काम भट्टराई नेतृत्वको समितिबाट नहुने उल्लेख गर्दै छुट्टै समिति बनाउन सुझाव दिएका थिए ।
यसअघि संविधानसभाले सहमति वा प्रश्नावलीका लागि संवाद समितिलाई तोकेका असोज १४, २१ र ३१ गतेका समय सीमा ब्यर्थ भएका थिए । तीनपटक सम्म सहमति र प्रश्नावली विनाको प्रतिवेदन बुझाएका संवाद समितिका सभापति भट्टराईले उक्त कामका लागि म्याद थप गर्न आफुले माग नै नगरेको बताउँदै आएका छन् । दलहरु सहमति पनि नगर्ने प्रक्रियामा पनि नजाने भएपछि संविधानसभा भने अन्यौलमा परेको छ ।