माघ ८ पछिको हैसियत खोज्दा संविधानमा अलमल

148
  •  
  •  
  •  

काठमाडौं १२ कात्तिक ।
नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुट्नु अघि नेताहरुबीच माघ ८ पछि सत्ता समिकरणको विषयले समेत प्रमुखता पाउदा निर्णयमा ढिलाई भएको छ । सत्ताको नेतृत्वको विवाद बढ्दा संविधानका विषयमा समेत अलमल भएको बैठकमा सहभागी स्रोतले मंगलबार कान्तिपुरलाई बतायो ।

स्रोतका अनुसार कांग्रेस माघ ८ पछि पनि प्रधानमन्त्री नछाड्ने अडानमा छ । एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको रुपमा अनौपचारिक ढंगले लविङ्ग गरिरहेको छ । एमाओवादीले पनि माघ ८ पछि आफ्नो ‘स्पेस’ दावी गरिरहेको छ ।

‘माघ ८ पछि कसले के पाउने भन्नेमा नेताहरुबीच शीर्ष तहमै कुरा हुन थालेको छ’, एमाओवादीका एक नेताका अनुसार समिकरणको टुंगो लागे संघीयतामा मतैक्य हुने अवस्थामा दलहरु पुगेका छन् । सुरुमा अनौपचारिक ढंगले हुने त्यस्ता छलफल पछिल्लोपटक भने दुई पक्षीय तहमा औपचारिक रुपमै हुन थालेका छन् ।

खासगरी संविधान जारी भएपछि महत्पूर्ण दुई पद राष्ट्रपति र प्रधानमन्त्री को हुने भन्नेबारे संवाद हुन थालेको हो ।

यसबारे मंगलबार एमाओवादीको स्थायी समिति बैठकमा समेत अध्यक्ष पुष्पकमल दाहालले प्रसङ्ग राखेका थिए । ‘संघीयता र शासकीय स्वरुपका गहन मुद्धालाई सत्ता समिकरणले अल्मलाएको छ’, दाहालले सुनाएका थिए । उनले कांग्रेस र एमाले मिलेर आफूहरुलाई एक्लाउन सक्ने र कुनै पनि महत्वपूर्ण पदमा ‘स्पेस’ नदिने खतरा रहेको समेत ब्रिफिङ गरेको ती नेताले बताए ।

सहमति खोज्न मंगलबार बिहान संवैधानिक राजनीतिक संवाद समिति र बेलुका एमाले र एमाओवादी दुक्ष पक्षीय बैठक समेत भएको थियो । दुवै बैठक निष्कर्षविहीन बनेका थिए । द्विपक्षीय छलफलमा पनि यसअघि जस्तै नेताहरुले आपसी अडान कायमै राखे । संघीयताको बिषयमा एमालेले थोरै प्रदेश बनाउनुपर्ने भन्दै एमाओवादीलाई लचक हुन आग्रह गरेको छ भने एमाओवादी पनि पुरानै अडानमा छ । पहिचान झल्किने खालको नामाकरण हुनुपर्नेमा एमाओवादीका बढ्ता जोड छ ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले कम भन्दा कम प्रदेश बनाउने बिषयमा सहमति जुटाउने काम भइरहेको बताएका थिए । ‘कुनै एउटा गाँउमा एउटा जातीको बाहुल्य छैन । प्रदेश बनाउदा यो कुरा ख्याल गर्नुपर्छ भन्ने कुरा छ’ गौतमले भने । एमालेले बढीमा ६-७ प्रदेश सम्म सहमति खोज्न सकिने कुरा गरिरहेको छ । एमाओवादी त्यसमा तयार नहुने हो भने ४ प्रदेश तर्फ फर्किने चेतावनी एमाले नेताहरुले दिइसकेका छन् । दुई दलबीच ठोस सहमति नभएपनि संविधान सभाको कार्यतालिका भित्रै विवाद मिलाउन प्रयास गर्ने भन्दै नेताहरु उठेका छन् ।

‘विवाद नमिलेकै माघ ८ पछिको पद बाँडफाँड नमिल्नाले हो’, प्रधानमन्त्री सुशिल कोइराला निकट रहेका कांग्रेसका एक नेताले भने-‘नयाँ संविधान आएपछिको राष्ट्रपति र प्रधानमन्त्रीको पद अहिले टुंग्याउनुपर्छ भन्ने भनाई एमाले र एमाओवादी दुवै पार्टीको छ ।’

एमाओवादी नेता एवं संवाद समितिका अध्यक्ष बाबुराम भट्टराईले नेताहरुको व्यक्तिगत आकांक्षा र नीजि कुरालाई सम्वोधन नगरेसम्म संविधान निर्माणमा सहमति बन्न गाह्रो हुने अघिल्लो दिन प्रतिक्रिया दिएका थिए । उनले यो बिषयलाई प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीसँगको बेग्लाबेग्लै भेटमा समेत राखेका थिए ।

कार्यतालिका अनुसार बिहीबारसम्म संविधानका विवादित बिषयमा सहमति खोज्नुपर्नेछ । बुधबार र विहिबार द्विपक्षीय र त्रिपक्षिय छलफल गरी सहमतिको प्रयास गर्ने उनीहरुबीच समझदारी भएको छ । गोकर्ण रिसोर्ट बैठकमा कुरा नमिलेपछि तीन दलका नेताहरुको संयुक्त बैठक भने अहिले सम्म बसेको छैन । सत्ता समिकरणको विषय चर्को ढंगले उठेपछि संघीयता र शासकीय स्वरुपको छलफलले गति लिन नसकेको हो ।

एमाले उपाध्यक्ष भीम रावलले भने सत्ताबारे औपचारिक छलफल भएको आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । तर, वर्तमान सरकार बन्नेबेला भएको सहमतीमा नयाँ संविधान लागू गर्नुअघि राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा चुनाव हुनुपर्ने बुँदा उल्लेख भएको प्रसङ्ग राख्दै रावलले भने-त्यसबारे नेताहरुबीच कुरा भएको हुनसक्छ ।’

कान्तिपुरबाट


  •  
  •  
  •