दलहरुबीच संघियताको नाममा रस्साकस्सी

90
  •  
  •  
  •  

काठमाडौ २८ असोज ।
कांग्रेस र एमालेले संघियतामा सम्विन्धत प्रदेशसभालाई नाम राख्न दिने गरी एमाओवादीलाई मनाउने प्रयास थालेका छन । तीन दलको बैठकमा एमाओवादीले प्रस्तुत गरेको दश प्रदेशको मोडलमा प्रदेशको नामकरण सम्वन्धित प्रदेशसभाले गर्ने उल्लेख गरेको थियो । कांग्रेस र एमालेले भने ६ या ७ प्रदेश बनाउनु पर्ने र तीनको नामकरण साझा पहिचानको हुनुपर्ने अडान राख्दै आएका थिए । एमाओवादी संख्यामा लचक भएमा नामकरण सम्वन्धित प्रदेशसभालाई दिनेगरी सहमति गर्न सकिने बार्तामा बसेका कांग्रेसका एक नेताले बताए । तीन दलबीच केही दिनदेखि चलीरहेको रस्साकस्सीमा एमाओवादीले ६ प्रदेशमा जाने हो भने नामकरण जातीय पहिचानयुक्त हुनुपर्ने अडान राखेको छ ।

‘संख्यामा एमाओवादी लचक भएको छ, तर जातिय पहिचानको नाम हुनुपर्छ भन्ने अडान उसले राख्दै आएको छ’ ती नेताले भने,’कुनैपनि प्रदेशमा एउटै जातिको बाहुल्यता छैन । त्यस्तो अवस्थामा कति जातिको नाम दिने ? यसले द्धन्द निम्ताउँछ । नाम सम्वन्धित प्रदेश सभालाई दिनेगरी सहमति कायम गर्न सकिन्छ ।’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले एउटै प्रदेशभित्र एउटा या दुईटा जातिको नाम राख्दापनि बाहुल्य जाति बाहिर रहने भएकाले यसमा जान नहुने बताए ।

शासकीय स्वरुप र संघीयताका बिषय प्रमुख तीन दल नियमिति छलफल गरी सहमतिमा पुग्नका लागि बैठक मंगलबारपनि बस्दैछ । सोमबार सहमति खोज्नेभन्दै दिनभर बैठक गर्ने भनिएपनि मूल विषयमा प्रवेश नगरी प्राविधिक कुरामा अडकएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । ‘बैठक मूल विषयमा प्रवेश भएन’ उनले भने । बैठकमा सहभागी एमाले नेता अग्नी खरेलले पनि विवादित बिषयमा सहमति खोज्ने क्रममा केही प्रगति नभएको जानकारी दिए । ‘सबै बिषय उस्तै छन्, छलफलमा केही टुगिएको छैन’ उनले भने । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला बैठकमा उपस्थित नभएको र एमाले अध्यक्ष केपी शर्मा ओली दुई घण्टा ढिला बैठकमा सहभागी भएकाले बैठकमा गम्भिर छलफल नै भएन । कान्तिपुरबाट


  •  
  •  
  •