निकास खोज्न कार्यदलले छलफल थाल्दै

118
  •  
  •  
  •  

काठमाडौं २२ पुस (ओएनएस) : प्रमुख तीन दल र मधेसी मोर्चाबीच कार्यदल तहमा छलफल हुँदैछ । हिजो मोर्चाले गठन गरेको कार्यदल र यसअघि प्रमुख दलहरुका तर्फबाट बनाएको कार्यदलबीच बेलुका छलफल गर्ने तयारी छ । मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा तराइ मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र तराइ मधेस सद्भावना पार्टीका रामनरेश यादव रहेका छन् ।

छलफल बेलुका ६ बजे शान्ति मन्त्रालयमा हुनेछ । मधेसी मोर्चाले कात्तिक १५ गते सरकारलाई बुझाएको ११ बुँदे मागमा बुँदागत रुपमा छलफल गरी सहमति जुटाउन दुवै पक्षबाट कार्यदल गठन भएको हो।

यसअघि प्रमुख दलहरुले एमालेका उपाध्यक्ष भीम रावल, एमाओवादीका महासचिव कृष्णबहादुर महरा र कांग्रेस नेता महेश आचार्य रहेको कार्यदल बनाइ सकेको छ । मोर्चाको एउटा घटक सद्भावना पार्टीका प्रतिनिधि भने कार्यदलमा छैनन् ।

प्रमुख दलको कार्यदलका सदस्य एमाले उपाध्यक्ष तथा रक्षामन्त्री भीम रावलले आज कार्यदल तहमा छलफल हुने तर समय तय भइनसकेको बताए ।


  •  
  •  
  •