कांग्रेसलाई मनाउन सत्तापक्षका तीन विकल्प

226
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर ।
सत्तापक्षले संसद बैठक सुचारु गर्नका लागि प्रमुख विपक्षी कांग्रेसलाई मनाउन तीन विकल्प अघि सारेको छ । भूकम्पछि पुननिर्माणसम्बन्धी विधेयक कि संविधान संसोधन विधेयकलाई प्राथमिकता दिने भन्ने गतिरोध हटाउन सत्तापक्षले ती विकल्पसहित कांग्रेससित संवाद थालेको हो ।

सभामुख ओनसरी घर्तीको अग्रसरतामा सोमबार प्रमुख ३ दलको शीर्ष वार्तामा त्यसबारे छलफल भएको सहभागी नेताहरुले जानकारी दिए । पहिलो विकल्पमा एकै दिन दुई पल्ट संसद बैठक डाकी पहिलोमा भूकम्पसम्बन्धी र अर्कोमा संविधान संसोधन विधेयकमा छलफल गर्नुपर्ने प्रस्ताव छ । दोस्रो विकल्प भने दुवै विधेयकलाई सँगसँगै संसद बैठकको कार्यसूचीमा राख्ने, भूकम्पसम्बन्धी विधेयक पारित गर्न कांग्रेसले सघाउने र अर्को विधेयक कार्यसूचीबाट हटाउने उल्लेख छ ।

तेस्रो विकल्प भने दुवै विधेयक सँगसँगै पेस गर्ने र दुवैलाई पारित गर्ने भन्ने छ । तिनवटै विकल्पमा कांग्रेस नेताहरुले आफ्ना पार्टीका तर्फबाट निर्णय दिन नसकेपछि मंगलवार पुन छलफल हुने गरी बैठक टुंगिएको थियो । ‘अवरुद्ध संसद खुलाउन र मुलुकमा विद्यमान राजनीतिक समस्या सुल्झाउन विभिन्न विकल्पमा छलफल भएपनि निष्कर्ष निस्कन सकेन’, बैठकपछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।

यसअघि संविधान संशोधन र पुनर्निर्माणसम्बन्धी विधेयक एकैचोटि संसदमा पेस हुनुपर्ने माग गर्दै आएको कांग्रेसले सोमबारको बैठकमा भने सबैलाई समेटिनुपर्ने खालको संसोधन प्रस्ताव हुनुपर्ने भनी थप प्रस्ताव गरेको थियो । ‘संविधान संसोधन विधयेक सरकारले अघि बढाओस् । तर, त्यसले अहिले नसमेटेका पक्षका माग समेत सम्बोधन गरोस्’, बैठकमा कांग्रेसको अडान थियो । आन्दोलनरत मधेशी मोर्चाले उठाएका माग संसोधनमा थपिनुपर्ने कांग्रेस नेताहरुले बताएका थिए ।

सभापति सुशिल कोइराला अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसक्दा पनि कांग्रेस निर्णयमा पुग्न नसकेको एमाओवादी नेता श्रेष्ठले जानकारी दिए ।
कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह र प्रमुख सचेतक चिनकाजी श्रेष्ठ थिए । एमालेबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, निवर्तमान सभामुख सुवास नेम्वाङ्ग, कानुनमन्त्री अग्नी खरेल र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठ थिए ।
विधेयकको कार्यसूचीको विवादमा संसद बैठक अल्झेपछि सभामुख अन्सारीले ३ दलका शीर्ष बैठक बोलाएकी हुन् । अघिल्लो दिनको संसद बैठकमा कांग्रेसले लगातार तेस्रोपल्ट सदन अवरोध गरेपछि विभिन्न विकल्पसहित निकास खोज्न निवर्तमान सभामुख नेम्वाङ्गले सुझाव दिएका थिए । शीर्ष नेताहरुको बैठकमा समेत सहभागी नेम्वाङ्गले विकल्परहित समस्या नभएकाले दलहरु अल्झन नहुने बताएका थिए ।

बैठकपछि कांग्रेस महामन्त्री सिंहले संविधान संसोधनलाई आफ्नो पार्टीले प्राथमिकता दिएको भन्दै दुवै विधेयक सँगसँगै अघि बढाउनुपर्ने पार्टीको अडान रहेको बताए । ‘संविधान संसोधन नभई नाकाबन्दीलगायत देशको अन्य समस्या सुल्झदैन । भूकम्पपीडितको राहतसम्बन्धी विधेयक पारित भएर पनि काम हुन सक्दैन’, कांग्रेसले अडान राख्नुको कारण उल्लेख गर्दै महामन्त्री सिंहले भने ।

बैठकमा सत्तापक्षले राखेका प्रस्तावबारे पार्टी सभापति कोइरालालाई अवगत गराई के गर्ने भन्ने निष्कर्षमा पुग्ने जानकारी कांग्रेस नेताहरुले बैठकमा राखेका थिए ।

बैठकपछि सभामुख घर्तीले संविधान संसोधनमा कांग्रेसको अडान यथावत रहेको भन्दै मंगलबारसम्म ठोस निष्कर्ष निकाल्न सकिने जानकारी आफूले पाएको संवाददाताहरुलाई बताइन ।

‘दुवै विधेयक महत्वपूर्ण भएपनि एमाले र एमाओवादीका नेताहरुले भूकम्पसम्बन्धी विधेयक पहिले अघि बढौं भन्नुभयो’, घर्तीले भनिन्–‘कांग्रेसका नेताहरुले सभापतिसँग छलफल गरी टुंगोमा पुग्ने बताउनुभएको छ ।’

कान्तिपुरबाट


  •  
  •  
  •