मधेसी मोर्चाको मागबारे प्रमुख दलले साझा धारणा बनाउने

135
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर ।
प्रमुख विपक्षी कांग्रेसहितका प्रमुख दलले सय दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबारे साझा धारणा बनाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा नेताहरुले एक दुई दिनभित्रै प्रमुख दल बसेर साझा धारणा बनाउने सहमति भएको छ । मधेस मुद्धामा साझा अवधारणा बनाउन विपक्षी कांग्रेस पनि सहमत भएको छ । बैठकमा सहभागी नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालका अनुसार एक दुई दिनभित्र प्रधानमन्त्रीसहित शीर्ष नेताले ठोस धारणा बनाउनेछन् । ‘सानो टिममा बसेर उहाँहरुले एउटा धारणा बनाउनुहुन्छ,’ उनले भने ।

बैठकमा राष्ट्रियताका मामिलामा सबै एकजुट हुन प्रधानमन्त्रीले अपिल गरेका थिए । उनले मधेसका जायज मागलाई पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै गृहकार्य गर्न प्रस्ताव गरेका थिए । तर, उनले राष्ट्रियतामा खलल आउने कुनै पनि काम हुन नदिने बताए ।

‘राष्ट्रियताका मामिलामा जुन विश्वास दिएर मलाई पठाइएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ढकालले भने, ‘म विश्वासघात गर्दिन । म राष्ट्रको पहरेदार हुँ पहरेदारी गर्छु ।’

प्रधानमन्त्रीले कांग्रेसलाई आफूले प्रतिपक्षीरुपमा नहेरेको बताए । ‘कांग्रेसलाई म सहयात्रीकोरुपमा नै व्यवहार गर्छु,’ उनको भनाइ थियो ।

कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले मधेस आन्दोलन समाधान गर्न विपक्षी भए पनि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापासहितका मन्त्री तथा सत्तापक्षीय नेताहरुले राष्ट्रियता संकटमा परेको बताउँदै सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।

बैठकमा उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, कांग्रेस नेता रामशरण महत र परिवार दलका अध्यक्ष एकनाथ ढकालले भारतसँगको सम्बन्ध सुधारमा जोड दिएका थिए ।

गच्छदारले उत्तरका सातवटै नाका खोल्न कठीनाई भएको बताए । उनले सात दिनमा खोल्ने भनिएका नाका खुलाउन पनि दुई वर्ष लाग्ने जानकारी गराएका थिए ।

महतले क्रान्तिकारी कुरा गरेरमात्रै समस्या समाधान नहुने बताउँदै भारतसँगको सम्बन्ध सुधारकै पक्षमा जोड दिएका थिए । ढकालले जनताको भोक प्यास मेटाउन राष्ट्रियताको नारामात्रै लगाएर नपुग्ने भन्दै समाधान खोज्नुपर्ने बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •