काठमाडौं २१ भदौ (ओएनएस) :सहमतिको समयसीमा सकिने अन्तिम दिन दलहरुबीच कार्यतालिका संसोधन गर्ने वा नगर्नेमा विवाद देखिएको छ । विवादित विषयमा सहमति भन्दा दलहरु कार्यतालिका संसोधन गर्ने वा नगर्नेमा केन्द्रित देखिएका छन् । बिहान सिंहदरबारमा बसेको तीनदलका शीर्ष नेताहरुको बैठकमा दलहरुबीच विवाद हुँदा बैठक निस्कर्ष विहीन सकिएको छ। एमाले बरिष्ठ नेता झलनाथ खनालले एमाओवादीले कम्तिमा १५ दिन कार्यतालिका संसोध गर्ने प्रस्ताव गरेको र कांग्रेस एमालले असहमति जनाएको बताए । कांग्रेस एमालेले अहिलेसम्म भएका सहमतिलाई संविधानसभामा पठाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई आग्रह गरेका छन् ।
समाधानको जिम्मेवारी पाएको संबिधान सभाको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले तीन दलका शीर्ष नेताहरुसँग कार्यतालिकाबारे छलफल गरेको थियो ।एमाओवादीले संबिधानसभा बाहिर रहेको नेकपा माओवादीलाई समेटेर संबिधान बनाउनुपर्ने भन्दै कार्यतालिका संशोधन गरी सहमतिमा जोड दिनुपर्ने धारणा बैठकमा राखेको थियो । कांग्रेस र एमालेका नेताले भने सहमति नजुटेकाले अब संबिधानसभाको प्रक्रिया अनुसार विवादित बिषयका टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।
‘कार्यतालिका बारे लामो छलफल भयो तर हामी कुनैपनि हालतमा कार्यतालिका संसोधन गर्ने पक्षमा छैनौं’ खनालले ओएनएस न्यूजसँग भने, ‘अहिलेसम्म भएका सहमतिलाई एक ठाउँमा राखेर संवैधानिक समितिलाई दस्तावेज बुझाउन भनेका छौ समय थप गर्नुंपर्ने अवस्था आयो भनेपनि संविधानसभाले थप गर्नुपर्छ ।’ संबिधान निर्माणको कार्यतालिका अनुसार संबिधानको विवादित बिषयमा सहमति जुटाउन आज अन्तिम दिन हो ।
एमाले नेता खनालले नेकपा माओवादीलाई सहमतिमा ल्याउने विषयमा कार्यतालिकाले कुनै फरक नपार्ने बताए । दलहरुबीच बिहानको बैठकमा सहमति हुन नसकेपछि दिउँसो फेरि छलफल हुनेछ ।