‘साउन २५ गते संविधान जारी गर्ने सहमति’

56
  •  
  •  
  •  

काठमाडौं ९ साउन ।
प्रमुख चार दलबीच २५ साउनभित्र संविधान जारी गर्ने सहमति भएको छ । जनताले दिएको सुझाब सबैतिरबाट आएपछि छलफल गरेर फास्ट ट्रयाकबाट संविधान निर्माण गर्न उनीहरू सहमत भएका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको चार दलका शीर्ष नेताहरूको बैठकले ढिलोमा २५ साउनसम्ममा संविधान जारी गर्ने सहमति गरेका हुन् । यसअघि दलहरूले १५ साउनभित्र संविधान जारी गर्ने आन्तरिक समझदारी गरेका थिए । बैठकमा सहभागी एमाले नेता माधवकुमार नेपालले मस्यौदामाथिको सुझाब संकलनलाई महत्त्वका साथ लिँदै सबैतिरबाट सुझाब संकलन भएपछि थप छलफल गर्ने सहमति बनेको जानकारी दिए ।

‘ढिलोमा २५ साउनसम्ममा संविधान जारी गर्ने र अहिलेलाई बरु बजेटमाथिको छलफललाई थाती राखेर भए पनि संविधान निर्माणमा केन्द्रित हुने भन्ने समझदारी भएको छ,’ बैठकपछि नेपालले भने, ‘कांग्रेसले साउनको अन्तिम साताबाट महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएपछि ढिलोमा २५ साउनसम्म संविधान जारी गर्ने सहमति भएको छ ।’ मस्यौदामा जनताले उत्साहबद्र्धक र सकारात्मक रूपमा सुझाब दिएको निष्कर्ष निकाल्दै दलहरूले अब संविधान निर्माणमै केन्द्रित रहने समझदारी गरेका छन् ।

सुझाब संकलनलगत्तै लगातार सार्वजनिक बिदा परेकाले संविधान निर्माणमा ढिलाइ भएको भन्दै बैठकमा अब जतिसक्दो छिटो ‘फास्ट ट्रयाक’बाट संविधान जारी गर्ने समझदारी बनेको हो । बैठकमा मस्यौदामाथि जनताले दिएका सुझाबलाई कसरी समेट्ने भन्ने विषय प्रवेश नगरेको एमाले नेता नेपालले बताए ।

‘निर्वाचन क्षेत्रबाट सुझाब आइनसकेको हुनाले त्यस विषयमा छलफल भएन,’ नेपालले भने, ‘सुझाबहरू आइसकेपछि संविधानमा तिनलाई कसरी समेट्ने भन्नेबारे फेरि बसेर कुराकानी गर्छौँ ।’ बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले प्रस्तावित मितिमा संविधान जारी गर्न शनिबारदेखि नै छलफललाई तीव्रता दिने समझदारी भएको जानकारी दिए ।

‘मस्यौदामा जनताको उत्साहबद्र्धक र सकारात्मक सहभागिता भएको निष्कर्ष निकालेका छौँ । साउन ११ गते नै सुझाब समेटेर प्रतिवेदन पेस गर्ने गरी अघि बढ्ने भन्ने भयो,’ बैठकपछि श्रेष्ठले भने, ‘संविधानसभाबाट साउनको प्रस्तावित मितिमा संविधान घोषणा गर्न शनिबारबाटै राजनीतिक भेटघाटलाई तीव्रता दिने भन्ने छ ।’ तर, अझै तीन दर्जन जिल्लाबाट सुझाब आइसकेको छैन । संविधानको मस्यौदामा आएका सुझाब समेट्ने र संविधान जारी गर्ने विषयमा शनिबार बिहानै सभामुख सुवास नेम्वाङ र चार दलका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

‘जनताको व्यापक चासो, राय र सुझाब सम्बोधन गर्ने गरी आवश्यक मस्यौदा परिमार्जनमा तत्पर हुनुपर्ने र तत्काल छलफल गर्नुपर्ने भन्ने भयो,’ बैठकपछि एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने, ‘संविधानका लागि शनिबार नै सभाध्यक्षलाई चार राजनीतिक दलका शीर्ष नेताले सामूहिक रूपमा बिहान ९ बजे भेट्ने र राय–सुझाबका विषयमा छलफल गर्न शनिबार नै राजनीतिक छलफल सुरु गर्ने भन्ने छ ।’ सभामुखसँग संविधानको कार्यतालिका परिवर्तनसहितका विषयमा छलफल हुने श्रेष्ठले बताए ।

कांग्रेस सहमहमन्त्री पूर्णबहादुर खड्काले पनि चार दलबीचको छलफलमा सुझाब संकलनको काम ऐतिहासिक भएको भन्दै शनिबारबाटै संविधान निर्माणमा सक्रिय हुने समझदारी बनेको बताए । उनले भने, ‘सुझाबमा इस्युवाइज छलफल भएको छैन । तर, साउनमै संविधान जारी गर्ने गरी शनिबार शीर्ष नेताले सभामुखलाई भेटेर छलफल गर्दै अगाडि बढ्ने तय भयो ।

’ संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट २५ जेठमा दलबीच भएको १६ बुँदे सहमतिभन्दा बेग्लै खालका सुझाब आएपछि त्यसलाई कसरी समेट्ने भन्ने विषयमा केन्द्रित हुँदै चार दलबीच बैठक बसेको थियो । तर, सबैतिरबाट सुझाब आइनसकेको हुनाले दलहरूले कसरी अगाडि बढ्ने भन्नेबारे शनिबारदेखि छलफल हुनेछ । २५ जेठमा चार दलले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने गरी सहमति गरे पनि सुझाब संकलनका क्रममा जनताले प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने पक्षमा सुझाब दिएका छन् ।

धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता, आमा वा बाबुको नामबाट नागरिकता दिनुपर्ने, संघीयताको सीमांकन र नामांकन अहिले नै टुंग्याउनुपर्ने विषयमा पनि जनताले सुझाब दिएका छन् । बैठकपछि एमाले प्रमुख सचेतक अग्नि खरेलले जनताबाट फरक सुझाब आएको भन्दै सुझाब संकलन जनमतसंग्रह नभएको र एउटै विषयमा हजारौँ सुझाब आएकाले संविधानसभा, संवाद समिति, मस्यौदा समितिमा छलफल भई निक्र्योलमा पुग्ने बताए ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, मन्त्री महेश आचार्यलगायतका नेता सहभागी थिए । एमालेबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी, प्रमुख सचेतक अग्नि खरेल सहभागी थिए । एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक गिरिराजमणि पोखरेल र फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजयकुमार र नेता जितेन्द्र देव सहभागी थिए । –
नयाँपत्रिकाबाट


  •  
  •  
  •