अनौपचारिक छलफलमा दल

164
  •  
  •  
  •  

काठमाडौं २९ माघ । वार्ताको ढोका बन्द गरेर आन्दोलन र प्रक्रियामा लागेका प्रमुख राजनीतिक दलहरूबीच फेरि अनौपचारिक छलफल सुरु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले वार्ता आह्वान गरेपछि त्यसलाई ‘फलोअप’ गर्दै सत्तापक्षले विपक्षी एमाओवादीका दोस्रो तहका नेताहरूसँग अनौपचारिक छलफल थालेका हुन्।

अनौपचारिक छलफलका क्रममा एमाओवादीका नेताले मुख्य विवाद संघीयतामै रहेकाले सीमांकन र नामकरणमध्ये एकमा लचक भइदिन सत्तारूढ दलसँग आग्रह गरेका छन्। ‘प्रदेशको नामकरण गर्ने जिम्मा प्रदेशसभालाई नै दिने हो भने सीमाका सम्बन्धमा लचिलो भइदिनुस्,’ एमाओवादीको प्रस्ताव उद्धृत गर्दै एक नेताले भने, ‘यो विषयमा अनौपचारिक सहमति भयो भने हामी पनि औपचारिक वार्तामा सहभागी हुन सहज हुनेछ। १२ बुँदे सहयात्रीबीच दुरी बढाउनु राम्रो हुँदैन।’

एमाओवादीको यो प्रस्तावका विषयमा कांग्रेस सकारात्मक भए पनि एमालेका शीर्ष नेताहरूले संघीयताको विषयमा लचक हुने अवस्था नरहेको बताएका थिए। कांग्रेस नेताहरूले सीमाका सम्बन्धमा देखिएको विवाद औपचारिक वार्तामा बसेर टुंगो लगाउन सकिने आश्वासन दिएको स्रोतले जानकारी दियो।
सत्तारूढ दलले सहमतिको प्रयास स्वरूप नै संविधानसभामा बिहीबार पेस हुने ‘प्रस्ताव निर्माण समिति’ को प्रतिवेदनलाई केही दिन स्थगित गरेर वार्ताको प्रयास गरिने बताएका छन्।

संविधानसभा सचिवालय स्रोतका अनुसार बिहीबारदेखि संविधानसभाको बैठक दस दिनका लागि स्थगित गरिनेछ। दस दिनभित्र अनौपचारिक वार्तालाई औपचारिकता प्रदान गरेर सकेसम्म विवादित विषयमा सहमतिका लागि प्रयास गरिने स्रोतको भनाइ छ। त्यतिञ्जेलमा पनि सहमति नभए प्रश्नावलीलाई कार्यान्वयनमा लैजाने तयारी संविधानसभा सचिवालयको छ।

विवादित विषय र टुटेको वार्ता प्रक्रिया फेरि थाल्न कांग्रेस, एमाले र एमाओवादीका दोस्रो तहका नेताहरूबीच पटक–पटक अनौपचारिक कुराकानी भएको छ। स्रोतका अनुसार एमाओवादीले माघ ९ गतेदेखि टुटेको वार्ता प्रक्रिया प्रारम्भ हुँदा संघीयताकै केही विषयमा अनौपचारक सहमति गरेर औपचारिक वार्ता प्रारम्भ गर्नुपर्ने बताउँदै आएको छ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णबहादुर खड्का, वनमन्त्री महेश आचार्य, एमालेका प्रमुख सचेतक अग्नि खरेल, युवा नेता रवीन्द्र अधिकारी, एमाओवादीका महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरू अहिले अनौपचारिक रूपमा वार्तामा जुटेका छन्। बुधबार दिउँसो पनि कांग्रेस उपसभापति पौडेल र मन्त्री आचार्यले एमाओवादीका महासचिव महरासँग संविधानसभा सचिवालयमा गोप्य छलफल गरेका थिए।

त्यसअघि एमालेका अधिकारीसहितका नेताले पनि एमाओवादीका नेतासँग अनौपचारिक छलफल गरेर संविधान निर्माण प्रक्रियाबाट नभाग्न आग्रह गरेका थिए। नागरिकबाट


  •  
  •  
  •