दलहरुको अन्तिम प्रयास पनि विफल

77
  •  
  •  
  •  

काठमाडौं ८ माघ (ओएनएस) : राजनीतिक दल र तिनका शीर्ष नेताले आफैले गरेको वाचा अनुसार दोस्रो संविधानसभाको एक पहिलो एक वर्षमा संविधान जारी गर्न असफल भएका छन् । ‘आज माघ ८ गते संविधान दिन्छौ’ भनेर राजनीतिक दलहरुले आ-आफ्नो घोषणा पत्रमा लिखित र त्यसपछि मौखिक रुपमा प्रतिबद्धता जनाएका थिए ।

तर, आज अन्तिम दिन दलहरु नयाँ सन्देश दिने तयारीमा भने लागेका छन् । अहिलेसम्मको प्रयास सफल भने भएको छैन । केहीदिन यता टुटेको संवाद जोड्दै दलहरुले मिलेका विषयलाई मस्यौदामा पठाउने र संघियताका विषयया एक महिनामा मिलाउने गरि सहमतिको प्रयास थालेका थिए । अहिले साढे ८ बजे संविधानसभाको बैठक बोलाइएको छ । दिउँसो साढे २ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक राती साढे ८ बोलाइएको हो ।

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रयासमा भएको वार्तामा सहमतिको प्रयास भइरहेको सद्भावना पार्टीका सहअध्यष लक्ष्मणलाल कर्णले जानकारी दिए । संविधानसभा बैठक स्थगित भएको समयमा कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलबीचको बैठक राख्ने पहल सुरु भएको हो । चार दलले जेठको गणतन्त्र दिवसमा संविधान जारी गर्ने अनिवार्य शर्तमा जनतासँग माफी माग्ने एमाओवादीले प्रस्ताव गरेको छ ।

‘ संविधान जारी गर्न नसकेपनि कम्तिमा संयुक्त वक्तब्य जारी गरेर जनतासँग माफी माग्ने कसरत सुरु भएको छ’, कर्णले भने ‘ यदि सहमति भयो भने आजै चारपक्षीय बैठक बसेर संयुक्त वक्तब्य निकाल्ने प्रयत्न छ ।’ तर, प्रधानमन्त्री सुशील कोइराला पाखा लागेर आराम गरिरहेकाले सहमतीय प्रक्रियामा सहभागी भएका छैनन् ।

मोर्चा छुट्टै छलफलमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले अघि सारेको सहमतिको प्रस्तावबारे विपक्षी मोर्चाले छुट्टै छलफल प्रारम्भ गरेको छ । गच्छदारले सहमति भएका निर्वाचन प्रणाली, न्याय प्रणालीलाई कार्यान्वयन गर्दै मस्यौदा समितिमा पठाउने प्रस्ताव गरेका छन् । उनले शासकीय स्वरुपमा पनि आलोचनात्मक समर्थन गर्दै कांग्रेस–एमालेको प्रस्तावलाई स्वीकार गर्ने प्रस्ताव गरेका छन् ।  प्रदेश संख्या ६ देखि ९ बनाउँदै भूगोल, सिमांकन र नामाङ्कनका लागि दुई महिना समय थप गर्ने प्रस्तावमा छलफल सुरु भएको नेताहरुको भनाई छ ।

 सहयोगमा


  •  
  •  
  •