काठमाडौं २८ पुस (ओएनएस) : समय पाएको अन्तिम समयसम्म पनि संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिले सहमतिको प्रयास नै जारी राखेको छ । दिउँसो बस्ने बैठकअघि शीर्ष तहमा सहमति जुटाएर बैठकमा मस्यौदाका लागि छलफल गराउने सभापति बाबुराम भट्टराईको तयारी छ । दलहरु बिहानैदेखि निर्णायक छलफलमा जुट्ने भएका छन् । हिजो साँझसम्म सहमतिको नजिक पुगेको बताएका दलहरुको छलफललाई विषेश छलफल भनेका छन् ।
संविधासभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । संविधानसभाले ठोस सहमति गर्न समितिलाई दिएको समय आज सकिने भएकाले आजै समितिको बैठक बस्न लागेको हो ।
४ दिनका लागि संवाद समितिलाई सहमति खोज्न निर्देशन दिएर स्थगित गरिएको संविधानसभाको बैठक भोलि बोलाइएको छ । तर निर्देशअनुसार समितिले आज साँझ प्रतिवेदन तयार गरिसक्नु पर्ने समय पाए पनि अहिलेसम्म ठोस सहमति भएको छैन । संवाद समितिका सभापति डा बाबुराम भट्टराईले ४ दिनदेखि शीर्ष तहमा छलफल जारी राखेका छन् ।
सम्वाद समिति अघि प्रमुख दलहरुका शीर्ष नेताहरुले छलफल गर्दैछन् । संवाद समितिको औपचारिक बैठक दिउँसो बस्ने र सबै शीर्ष नेता समितिमा भएकाले बिहानैदेखि प्रमुख दलका शीर्ष नेताहरु बैठक गर्न लागेका हुन् । सिंहदरबारमा बिहान हुन लागेको छलफलमा प्रधानमन्त्री सुशिल कोइराला सहितको सहभागिता रहने प्रधानमन्त्रीका पे्रस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।