मस्यौदा ल्याउने बाटो खोज्दै दलहरु

289
  •  
  •  
  •  

काठमाडौं २७ पुस (ओएनएस) : २९ गतेको समयसीमा सहित सहमति गर्ने जिम्मा पाएका दलहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर, चारपक्षका नेताहरुसँगै बस्न नसक्दा दुरी झन बढेको छ । संविधानसभाको राजनीतिक सहमति तथा सम्वाद समितिको प्रयासमा आज पनि चरणवद्ध रुपमा छलफल हुनेछ । समितिले छुट्टा-छुट्टै तथा संयुक्त छलफल गर्ने तयारी गरेको छ ।

सत्तारुढ दुई दलबीच कांग्रेस र एमालेले सयुक्त छलफल गरेपछि ३ दलको सयुक्त बैठक बस्नेछ । संविधानका महत्वपूर्ण विषयमा विवाद रहेका विषय टुंग्याउने जिम्मा संवाद समितिलाई पर्सीसम्मको म्याद दिएका दलहरुले शीर्ष नेतृत्वबाट पनि छलफल जारी राखेका छन् । सहमति खोज्ने जिम्मा पाएको संवाद समितिका सभापति डा बाबुराम भट्टराईले पनि छुट्टाछुट्टै छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

मोर्चा छुट्टै बैठकमा
एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय गठबन्धनको बैठक बस्दैछ । संविधानका विवादित विषयमा भइरहेको छलफल र आन्दोलनका कार्यक्रममा विषयमा छलफल हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माफि नमागेकाले मधेसी मोर्चासहित चारपक्षको बैठक बस्न नसकेकाले मोर्चा अप्ठ्यारोमा परेको छ ।

एमाले र मधेसवादी मोर्चाको विवादका कारण शनिबार संविधानसभा भवनमा चारपक्षीय बैठक हुन सकेन। संविधानका विवादित विषयमा छलफल गर्न संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रमुख दलको बैठक बोलाएका थिए। तर, मधेसवादी दलका नेताहरू एमालेसँग वार्ता नगर्ने भन्दै सँगै बसेनन्।

उनीहरू एमाओवादीसँग मात्र वार्ता गरेर बाहिरिएका थिए। प्रमुख तीन राजनीतिक दलबीच संविधानसभा भवनमा भएको बैठकमा पनि संघीयताको मुद्दा झनै जटिल बनेको नेताहरूले बताएका छन्। जसका कारण विवादित अन्य विषयमा पनि सहमति हुन सकेको छैन।
कांग्रेस, एमाले र एमाओवादीबीच तराईका पाँच जिल्लाका सम्बन्धमा छलफल भएको थियो। एमाओवादीले मधेसवादी दलसँग छलफल नगरी कुनै विषयमा निर्णय लिन नसक्ने बताएको थियो।


  •  
  •  
  •