काठमाडौं २३ पुस (ओएनएस) : प्रमुख दलहरुले संविधानका विवादित विषयमा आज निर्णायक छलफल गर्ने बताएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरेका दलहरुले आज दिनभर छलफल गरेर सहमति खोजिने दावी गरेका छन् । आजको बैठकलाई दलहरुले निर्णायक भनेका छन् । माघ ८ नजिकिंदै गर्दा सत्तारुढ दलहरु लचकता अपनाएर पनि विपक्षीलाई सहमतिमा ल्याउन दवाव परेको छ ।
हिजो साँझ बसेको नेपाली कांगे्रस र नेकपा एमालेको बैठकले तोकिएकै मितिमा संविधान जारी गर्न संविधानको अन्तरवस्तुमा असन्तुष्ट एकीकृत माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन लचकता अपनाउने निष्कर्ष निकालेका हुन् ।
तर कुन कुन विषयमा लचकता अपनाउने भन्ने विषयमा भने आज छलफल हुने कांगे्रसका एक नेताले बताए । मंगलबार कांग्रेस, एमाले र एमाओवादीले सहमति प्रयासका लागि सभाध्यक्षसँग थप समय माग गरेका छन्।
माघ ८ को समयसीमा सकिन १७ दिन मात्र बाँकी रहँदा शीर्ष नेताहरूले मागेको थप समयबारे नेम्वाङले आज मात्रै निर्णय गर्नेछन्। दलहरुबीच आज पनि आवश्यकता अनुसार दुईपक्षीय, त्रिपक्षीय तथा संयुक्त छलफलहरु हुने भएको हो ।