प्रतिवेदन पनि तयार गर्न सकेन कार्यदलले

166
  •  
  •  
  •  

काठमाडौं १४ पुस (ओएनएस) : संविधानका आधारभुत बिषयमा सहमति जुटाउने जिम्मा पाएको कार्यदलले सहमति कायम गर्न असफल भएको छ । दुई दिनको म्याद पाएको कार्यदलले तीन दिन लगाएर पनि विवादित चारवटा बिषयमध्ये कुनैमा पनि प्रगति गर्न सकेन । कार्यदलले सहमति गर्न नसकेपछि आज बिहान शीर्ष तहको बैठक बसेर छलफल हुँदैछ । सहमति जुटाउन नसकेपछि कार्यदलले आइतबार दिउँसो शिर्ष नेताहरुलाई मौखिक जानकारी गराएको छ ।

दिउँसो चारबजे बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा कार्यदलका सदस्यहरुले छलफल भएको तर सहमति जुटाउन नसकिएको जानकारी गराएका हुन् । सहमति जुटाउन नसकेपछि विवाद मिलाउन शीर्ष नेतृत्वलाई नै दिइने भएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले कार्यदलमा सहमति नभएकाले पुनः प्रमुख नेतालाई नै विवाद टुंग्याउन सुझाव दिएको बताए । मुख्य चारदलका शिर्ष नेताको बैठक आज  विहान  फेरि बोलाईएको छ ।

आज  मौखिक रुपमा प्रगति पेश गरिनेछ । मूख्य दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भएको छैन । पूर्वको सुनसरी, मोरङ, झापा, पश्चिमको कैलाली र कञ्चनपुरलाई मधेसमा गाभ्ने न गाभ्नेमा कसैले अडान छाड्न नसकेको एक सदस्यले बताए ।

कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।


  •  
  •  
  •