‘राष्ट्रिय सरकार र सहमति एकसाथ’

200
  •  
  •  
  •  

काठमाडौं १० पुस ।
प्रमुख दलहरूले संविधानका विवादित विषय र राष्ट्रिय सहमतिको सरकारलाई एउटै प्याकेजमा टुंग्याउने प्रयास थालेका छन् । संघीयता र शासकीय स्वरूपमा ठूलो विवाद नभए पनि सत्ता साझेदारीको विषय प्रमुख बन्न थालेपछि दुवैलाई एकैसाथ सल्टाउने प्रयास अनौपचारिक तहमा भएको हो ।

‘संंविधानमा सहमति र राष्ट्रिय सहमतिको सरकार एकैचोटि घोषणा हुनसक्ने अवस्था पनि छ,’ कांग्रेसका एक उच्च नेताले बुधबारको बालुवाटार बैठकअघि भने, ‘माघ ८ मै संविधान जारी गर्ने सर्तमा एमाओवादी र मधेसी मोर्चालाई इच्छाएको मन्त्रालय दिएर भए पनि सरकारमा सामेल गर्नुपर्छ भन्ने सुझाव हामीले प्रधानमन्त्रीलाई दिएका छौं, प्रधानमन्त्री पनि त्यसमा तयार हुनुहुन्छ ।’ ती नेताले सत्ताको बाँडफाँड मिल्नासाथ संविधानका विवादमा सहमति जुटिहाल्ने बताए ।

‘औपचारिक प्रस्तावका रूपमा छलफल त गरिएको छैन, तर अनौपचारिक तहका भेटघाट र द्विपक्षीय कुराकानीमा यो विषय प्रमुख हुने गरेको छ,’ उनले भने, ‘माघ ८ मा संविधान जारी गर्ने गरी राष्ट्रिय सहमतिको सरकार र संविधानका विवादित विषयमा एकैचोटि सहमति जुटाउन सबै सकारात्मक छन् ।’ स्रोतका अनुसार एमाओवादीले संविधान जारी हुनुअघि भन्दा भएपछिको शक्ति सन्तुलनमा आफ्नो स्थान खोजेको छ । उसको चाहना माघ ८ मा संविधान जारी भएमा त्यसपछि हुने सत्ताका प्रमुख पद राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको निर्वाचनमा आफ्नो स्थान कहाँ हुने भन्नेमा लक्षित छ । ‘राष्ट्रपति र प्रधानमन्त्री नपाए पनि एमाओवादीले प्रमुख मन्त्रालय लिएर आगामी निर्वाचनसम्म सरकारमा सँगै जानुपर्ने बताएको छ,’ स्रोतको दाबी छ, ‘यसैमा कुरा नमिल्दा संविधानका अन्तरवस्तुमा सहमति नजिक हँुदै भत्किँदै गएको हो ।’

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने संविधानका अन्तरवस्तुमा सहमति नहुँदासम्मको अवस्थामा सरकारलाई एजेन्डा नबनाएको दाबी गरे । ‘अहिले हाम्रो एक मात्र एजेन्डा संविधान हो । त्यसमा सहमति भइसकेपछि मात्रै अन्य विषयमा छलफल गर्न सकिन्छ,’ उनले भने, ‘हामीले सत्ताको विषय उठाएका छैनौं ।’

त्यस्तै सहमति खोजीको सिलसिलमा बुधबारको बालुवाटार बैठक पनि द्विपक्षीय छलफलमा

केन्दि्रत भयो । आपसमा टक्कर गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच त्यहीँ करिब एक घन्टा छुट्टै छलफल भयो । प्रधानमन्त्री कोइरालाले बिहीबार बिहान दाहाल र ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । दिउँसो २ बजे त्यसैगरी मधेस केन्दि्रत दलका नेताहरूसँग कुरा हुनेछ । अपराह्न ४ बजे चार पक्षको संयुक्त बैठक बस्ने कार्यक्रम छ । ‘सरकारको विषयसमेत वान टु वान वार्तामा आउनेछ,’ अर्का एक नेताको दाबी छ, ‘भित्री स्वार्थ सरकारमै भएकाले यस्तो वार्ता आवश्यक भएको हो ।’

एमाले वरिष्ठ नेता झलनाथ खनालले नेताहरूबीच हानाहानको अवस्था रोकेर विश्वासको वातावरण बनाउन छलफल केन्दि्रत भएको बताए । ‘तीन दलका शीर्ष नेता बसेर मुद्दा केन्दि्रत छलफल गर्ने सहमति भएको छ,’ उनले भने ।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले केही दिनदेखिको तिक्तता मेटाएर विश्वासको वातावरणको थालनी भएको बताए । ‘आजदेखि नयाँ शिराबाट छलफल भएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •