संविधान विवाद : सहमति सम्भावना न्यून

145
  •  
  •  
  •  

काठमाडौं ७ पुस । प्रमुख दलका शीर्ष नेताहरू नै एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएपछि संविधानका अन्तर्वस्तुमा सहमति हुने सम्भावना न्यून बन्दै गएको छ। सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताले एमाओवादीलाई संविधान निर्माण प्रक्रियाबाट भागेको आरोप लगाउन थालेका छन् भने एमाओवादीले सत्तारूढ दललाई दुई तिहाइको दम्भ देखाएको भन्दै आलोचना गर्दै आएको छ।

संविधान लेखन प्रक्रियामा दुवै पक्षले एकअर्कालाई बाधक देख्ने गरेका छन्।विपक्षी मोर्चाको नेतृत्व गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताको व्यवहार यही रूपमा बढ्दै गए माघ ८ मा संविधान आउन नसक्ने धम्की दिएका छन्। ‘एउटा पार्टीको अध्यक्ष भएँ, अलिकति सिट बढी आयो भन्दैमा म महाराजधिराज नै भएँ। अरू सबै रैती भए, दासहरू हुन् भन्न ठानेका छन्। त्यस्तो मानसिकतासँग हामी झुक्दैनौं,’ एमाओवादी अध्यक्ष दाहालले आइतबार पत्रकारहरूसँग भने।

शनिबार भएको तीन दलको बैठकमा कांग्रेस र एमालेका शीर्ष नेताको कुरा नसुनी एमाओवादी नेताहरू बाहिरिएका थिए। प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको बाधक बनेको दाहालको आरोप छ। उनले एमाले अध्यक्ष ओली देशको ठेकेदारझैं गरी बैठकमा प्रस्तुत हुँदा सहमति कायम हुन नसकेको आरोप लगाए।

‘ओलीजीले आफूलाई यो देशको ठेकेदार मै हुँ भनेजस्तो गरेर जे मन लायो त्यही बोलेको हामीलाई मान्य हुँदैन,’ दाहालले भने, ‘जसको भूमिका के हो भन्ने इतिहास साक्षी छ। परिवर्तनका लागि जनताको पक्षमा कसले कति भूमिका खेल्यो भन्ने सबैलाई थाहा छ। तर, आफूले बोलेपछि सबैलाई फर्मान जारी गर्ने जस्तो अधिकार उहाँलाई कसले दियो? प्रधानमन्त्रीले त्यसखालका अभिव्यक्ति रोक्न भूमिका खेल्नुपर्छ।त्यसपछि हामी वार्ताका लागि तयार छौं।’

दाहालले अहिलेकै अवस्थामा माघ ८ मा संविधान आउन नसक्ने जिकिर पनि गरे। उनले संविधानका अन्तर्वस्तुमा सहमति कायम नभएसम्म संविधान जारी हुन नसक्ने बताए। उनले दुई तिहाइका नाममा जबर्जस्ती पेल्न खोजे प्रतिकार गर्ने चेतावनीसमेत दिए। ‘प्रमुख राजनीतिक शक्तिहरूबीच सहमति भयो भने अझै पनि फास्ट ट्र्याकबाट समयमा संविधान आउन सक्छ,’ दाहालले भने, ‘सहमति भएन भने सम्भव छैन।’

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली दुवैले नबुझेर नै माघ ८ मा संविधान आउँछ भन्ने अभिव्यक्ति दिएको दाहालको भनाइ छ। ‘सहमति भाँड्नतिर लागेर माघ ८ मा संविधान आउँछ भन्नु जनतालाई धोका दिनुबाहेक केही होइन,’ उनले भने।
उनले सामान्य संसद नभएकाले दुई तिहाइले मात्र संविधान ल्याउन नसक्ने दाबी गरे। ‘दुई तिहाइ भएपछि जे मन लायो त्यही गर्न पाइँदैन,’ दाहालले भने, ‘ओलीजीले भनेजस्तो होइन। विभिन्न आन्दोलनका बेला जे गर्ने भनेको हो त्यही नै संविधानसभाले गर्ने हो। दुई तिहाइका नाममा बलमिच्याइँ भयो भने प्रतिवाद हुन्छ।’

दाहालले तीन दलको बैठकमा पनि ओली पहिचानको कुरा स्वीकार गर्नै नसक्ने भनेर प्रस्तुत भएपछि बाहिरिएको उल्लेख गर्दै सहमति हुने अवस्थामा मात्र वार्ता हुने बताए। ‘केपी ओलीजीले पहिचानको कुरा गर्नै नपाइने, त्यो कुरा गरेपछि नेपाल रुवान्डा भइहाल्छ, यो कुरा बटमलाइन हो, गर्नै पाइँदैन भन्नेजस्ता कुरा गर्नुभयो,’ उनले भने, ‘अझ गठबन्धन पनि विघटन गर्नुपर्यो भन्ने कुरा गरेपछि सकारात्मक र सहमति गर्नेतिर होइन, संविधान नबनाउनेतिर नै ओलीजीहरूको मनसाय बुझेर हामी बाहिरिएका हौं।’

यता, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने एमाओवादी नै संविधान निर्माणको काम छाडेर आन्दोलनमा लागेको बताए। उनले आन्दोलन र संविधान सँगसँगै हुन नसक्ने पनि बताए। ‘उहाँहरू संविधान बनाउन छाडेर आन्दोलन घोषणा गर्नुहुन्छ,’ पौडेलले भने, ‘छलफल गर्दा छाडेर हिँड्नुहुन्छ। अनि कसरी सहमति हुन्छ? माघ ८ अझै टर्योन भन्न मिल्दैन। संविधान बनाउने हाम्रो उद्देश्य हो।’ नागरिकबाट


  •  
  •  
  •