काठमाडौं १ पुस (ओएनएस) : संविधानका विवादित विषयमा संविधानसभा र शीर्ष तहमा आजदेखि समानान्तर छलफल हुने भएका छन् । प्रमुख दलका शीर्ष नेताहरुका बीचमा संविधानसभामा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल र शीर्ष नेताहरुबीचको छलफल समानान्तररुपमा सञ्चालन गर्ने अनौपचारिक समझदारी बनेको छ ।
हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कांग्रेस, एमाओवादी र मधेशी दलका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलका क्रममा संविधानसभाको छलफल र शीर्ष नेताहरुबीचको छलफललाई समानान्तररुपमा सञ्चालन गर्ने समझदारी बनेको हो । एमालेका नेताहरु अनुपस्थित रहेका कारण अनौपचारिक छलफलमै बैठक केन्द्रित बनेको थियो ।
बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईले प्रधानमन्त्रीसँग संविधानसभाको बैठकमा सत्तापक्षका सभासद्हरुले हुटिङ गरेकोप्रति आधिकारिक धारणा माग गगरे । संविधानसभाको बैठकमा एमाओवादीको तर्फबाट कृष्णबहादुर महरा बोल्दै गर्दा कांग्रेस, एमालेका सभासद्हरुले पछाडिबाट हुटिङ गरेका थिए । सभापति भट्टराईले एकातिर शीर्ष नेताहरुबीच छलफल हुने अर्कोतिर संविधानसभामा सत्तापक्षले नै हुटिङ गर्ने गैह्रराजनीतिक कृयाकलापप्रति प्रधानमन्त्रीसँग आधिकारिक धारणा मागे । जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा भएको कुरा आधिकारिक नभएको र आफूहरु सहमतिकै पक्षमा भएको स्पष्ट पारेका थिए ।
सभापति भट्टराईले दलहरुको अनौपचारिक बैठकमा संविधानसभामा हुटिङको चलन नै नभएको र संसद्मा समेत सत्तापक्षले नभई प्रतिपक्षीले विरोध गर्दा मात्रै हुटिङ गर्ने गरेको उल्लेख गर्दै संविधानसभामा सत्तापक्षका सभासद्हरुले नै हुटिङ गर्ने क्रियाकलापको आलोचना गर्नुभएको थियो ।