काठमाडौं २८ मंसिर (ओएनएस) : दलहरुबीच सरकार गठन र संविधान निर्माणलाई प्याकेजमा सहमति खोज्ने गृहकार्य सुरु भएको छ । संविधान बनेपछिको शक्ति बाँडफाँडलाई केन्द्रमा राखेर संसिवधानका अन्र्तबस्तुमा लेनदेन गरिने तयारीमा आज सयुक्त बैठक गर्ने तयारी छ । भोलि संविधानसभाको सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल गर्नुअघि कार्यदल बनाएर सहमति खोज्ने गृहकार्य सुरु भएको एक नेताले जानकारी दिए ।
संविधानका विवादित मुद्दामा पार्र्टीत अडान छाडेर प्याकेज सहमतिका लागि अन्तिम लेनदेनमा केन्द्रित भएको छ । भोलिबाट संविधानका विवादित मुद्दामा संविधानसभामा संवाद समितिले बुझाएको प्रतिवेदनमा आधारित भएर छलफल आरम्भ हुँदैछ । विवादित मुद्दा पुनः संवाद समितिमा फर्काउने कि सभामै छलफल गरेर मस्यौदाका लागि प्रक्रिया अघि बढाउने भन्नेमा दलहरूबीच विवाद छ ।
विवादकै बीच संविधानका विवादित सबै मुद्दामा प्याकेजमै सहमति जुट्ने गरी आपसी लेनदेनसमेत हुने गरी खुला रूपमा छलफल अघि बढेको नेताहरूले बताएका छन् । दलहरुबीच सबै विषयमा खुलेर छलफल सुरु भएको एमाले उपाध्यक्ष भीम रावलले जनाकारी दिए ।
उनका अनुसार शक्ति शक्ति बाँडफाँड र संविधानका अन्र्तबस्तु सबै विषयमा छलफल केन्द्रित भएको छ । प्रदेशको संख्या ८ सम्म हुने र शासकीय स्वरुप मिश्रीत हुने दलहरुबीच सहमति नजिक छ ।
आज अनौपचारिक र दुईपक्षीय छलफल हुने र भोलि चारपक्षीय बैठकबाट विवादित मुद्दामा प्याकेजमै सहमति जुटाउनका लागि छुट्टै कार्यदल बनाउने दलहरूको तयारी छ ।