आज दुईपक्षीय र आन्तरिक छलफल

208
  •  
  •  
  •  

काठमाडौं २५ मंसिर (ओएनएस) :
संविधानका विवादित मुद्दामा सहमति जुटाउन आज दिनभर आन्तरिक र दुईपक्षीय कसरत हुने भएको छ । आजको आन्तरिक र दुईपक्षीय छलफलका आधारमा भोलि निर्णायक वार्ता गरिनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेता सहभागी बैठकले आज आन्तरिक र द्विपक्षीय छलफल गरी औपचारिक सहमतिको वातावरण तयार गर्ने निर्णय गरेका हुन् ।

र बिहानैबाट आन्तरिक र द्विपक्षीय छलफल हुुने दलहरूले जनाएका छन् । यसै क्रममा बिहीबार एमाले–मधेसवादी, एमाले–एमाओवादी, कांग्रेस–मधेसवादी, कांग्रेस–एमाओवादी तथा एमाओवादी–मधेसवादी दलबीच छलफल गर्ने तय भएको छ ।

आजको छलफलपछि भोलि शुक्रबार संविधानसभामा संवाद समितिले बुझाएको प्रतिवेदनमाथि छलफल प्रारम्भ हुने भएकाले चार पक्षबीच निर्णायक छलफल गर्ने दलहरूको तयारी छ । एमाले वरिष्ठ नेता झलनाथ खनालले आन्तरिक र द्विपक्षीय छलफलमार्फत सहमति नजिक रहेका विषयमा टुंगो लगाउने गरी छलफल केन्द्रित हुने जानकारी दिए ।

बालुवाटारमा सम्पन्न बैठकमा संघीयता, निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरूपमा दलहरू सहमति नजिक पुगेका हुन् । प्रदेश सभालाई नामांकनको टुंगो लगाउने जिम्मेवारी दिएर ७ या ८ प्रदेशमा सहमति जुटाउन सकिने बैठकको निष्कर्ष छ ।


  •  
  •  
  •