काठमाडौं १६ मंसिर (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउने दलहरुको छलफल राष्ट्रिय सरकार गठनतिर केन्द्रित भएको छ । सत्तासिन दलले राष्ट्रिय सरकार बनाएर संविधानका विवाद विषय समाधान गर्न प्रस्ताव गरेपछि छलफल सरकार गठनमा केन्द्रित भएको हो । आज दलहरुबीच दुईपक्षीय छलफल हुँदैछ । सत्तासिन कांग्रेस एमालेको सल्लाह अनुसार सयुक्त र दुईपक्षीय छलफलमा सरकारमा आउन मधेसी मोर्चा र विपक्षी एमाओवादीलाई प्रस्ताव गरेका छन् ।
शक्ति बाँडफाँडमा कुरा नमिल्दा नै संविधानमा वाधा पुगेको निस्कर्ष सहित त्यतातिर छलफल मोडिएको हो । एमाले बरिष्ठ नेता झलनाथ खनालले सरकार गठनपनि संविधानसँगै जोडिन पुगेकाले त्यस्तो प्रस्ताव गरिएको बताए । उनले विपक्षी दलले अस्वीकार गरेको बाहिर आएपनि उनीहरु सकारात्मक रहेको बताए ।
आज पनि दुईपक्षीय छलफल हुने उनले बताए । सोमबार भएको छलफलमा सत्तासिन दलले राष्ट्रिय सरकार बनाएरु अघि बढ्न प्रस्ताव गरेका थिए । तत्काल प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान बनेपछि नेतृत्व फर्नेगरि सरकार बनाउन छलफल सुरु भएको छ । संघियताका विषयमा कुरा नमिल्दा संविधान बनाउने काम भने पछि धकेलिदै गएको छ ।