दलहरुको छलफल राजनीतिक मुठभेडतिर

352
  •  
  •  
  •  

काठमाडौं २ मंसिर (ओएनएस) : संविधानका विवादित विषयमा सहमति गर्न नसकेका दलहरु राजनीतिक मुठभेड तिर अघि बढेका छन् । सत्तासिन दलले प्रक्रियाको दवाव दिन बहुमत सभासदको हस्ताक्षर बुझाएका छन् भने विपक्षी दलको मोर्चाले त्यसलाई असफल बनाउने निणर्य गरेको छ । संविधानका विवादित विषयमा सहमति खोज्न बसेको संवैधानिक राजनीति सम्वाद तथा सहमति समितिको बैठक विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठकमा काङग्रेस एमालेका ४३ जना सभासद्ले साझा प्रस्तावलाई प्रक्रियामा लैजानुपर्ने भन्दै समिति सभापति बाबुराम भट्टराईलाई लिखित हस्ताक्षर बुझाएका छन् । हस्ताक्षर बुझाएपछि चकाचर्की नै भएको थियो । बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक समितिका ४३ सदस्यको लिखित हस्ताक्षर पेस गरेका थिए। संवैधानिक समितिमा ७३ सदस्य छन्। त्यसपछि बैठकमा एमाओवादी तथा मधेसवादी दलहरुले कडा आपत्ति जनाएका छन्। एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षरका आधारमा सभापतिले प्रस्ताव अघि बढाउन नसक्ने बताएपछि भनाभन चल्यो।

बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। साझा प्रस्तावमा असहमतिका बुदाँ सहित संविधानसभामा लैजाने बारेमा छलफल भएपनि एकीकृत माओवादीले नमानेपछि निष्कर्षमा नपुगको सीपी मैनालीले जानकारी दिए । बैठकमा कांग्रेस एमालेका सभासद्हरुले लोकतन्त्रमा प्रक्रियामा जान एमाओवादीलाई किन आपत्ति भयो भन्दै प्रश्न राखेका छन्। कांग्रेस एमाले बहुमतबाट अघि बढ्न खाजे भीडन्त हुने चेतावनी एमाओवादी तथा मधेसवादी दलका सभासद्हरुले दिए । सोमबारको छलफलसँगै राजनीतिक विवाद झन पेचिलो बनेको नेताहरुले बताएका छन् ।


  •  
  •  
  •