दोस्रो चरणको निर्णायक वार्ता आज

121
  •  
  •  
  •  

काठमाडौं ९ कात्तिक (ओएनएस) : संविधानका विवादित मुद्दा टुंगो लगाउन गोकर्ण रिसोर्टमा बसेको पहिलो चरणको वार्ता विफल भएपछि दलहरु आजदेखि दोस्रो चरणको वार्तामा जुट्दैछन् । यसअघि पहिचानको प्रमुख आधार जात बनाउने वा नबनाउने भन्नेमा विवाद भएको विफल भएको वार्ता आज त्यही ठाउँबाट सुरु हुनेछ । दलीय प्रस्तावभन्दा माथि उठेर राष्ट्र हित, राष्ट्रिय आवश्यकता र दीर्घकालीन सोचका आधारमा संघीयतामा सहमति गर्नुपर्ने कांग्रेस–एमाले प्रस्ताव र प्रदेश निर्माण गर्दा जातीय पहिचानलाई मुख्य आधार मान्नुपर्ने एमाओवादी अडानबीच कुरा मिलेको छैन ।
कांग्रेस र एमालेले बढीमा ६ या ७ प्रदेश तथा एमाओवादीले १० प्रदेशमा अडानमा छ ।

एमाओवादीले कांग्रेस–एमालेले भनेजस्तो थोरै प्रदेश बनाउने हो भने जातीय पहिचानलाई नै प्रमुख आधार मान्नुपर्ने अडान राखेको छ । एमाओवादीले आफ्नो प्रस्ताव खुलस्त रूपमा राखेर लचकता अपनाउन नसकिने भनाइ राखेपछि कांग्रेस–एमालेले आज निर्णायक वार्तामा प्रगति हुन नसके प्रश्नावलीमार्फत संविधानको मस्यौदा तयारीका लागि प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले संविधानसभाले १५ कात्तिकसम्म सहमतिका लागि अन्तिम पटक शब्द प्रयोग गरेर संवैधानिक, राजनीतिक, संवाद तथा सहमति समितिलाई सहमति जुटाउने समयसीमा दिएकाले आजको वार्तामा सहमति हुन नसके प्रश्नावलीमार्फत प्रक्रियामा लगेर मस्यौदा तयारी गर्नेबारे छलफल केन्द्रित गरिने बताए । ‘आज र भोलि आवासीय छलफल गर्ने र अर्को बैठकमा प्रक्रिया र प्रश्नावलीका विषयमा छलफल केन्द्रित गर्ने दलहरुको तयारी छ । वर्ता आजपनि गोकर्ण रिसोर्टमा नै गर्ने तयारी छ ।


  •  
  •  
  •