दलहरु आजदेखि निर्णायक वार्तामा

71
  •  
  •  
  •  

काठमाडौं ४ कात्तिक (ओएनएस) :

विवादित विषयमा सहमति खोज्न आजदेखि निर्णायक वार्ता हुने भएको छ । दलहरु आज र भोलि पहिलो चरणको आवासीय छलफलको तयारीमा छन् । बिहान संविधानसभामा सभामुख सहित हुने छलफल र संविधानसभाको बैठकपछि आवासीय छलफलमा जाने दलहरुले बताएका छन् । राजधानी नजिकैको रिर्सोटमा आवासीय बार्ता गर्ने तयारी भएपनि कहाँ हुने भन्ने सार्वजनिक गरिएको छैन । बैठकमा प्रमुख तीन दलका शीर्षस्थ तीन/तीन नेता सहभागी हुनेछन । आवश्यक परेमा मात्रै अन्य नेताहरुलाई बोलाईने छ ।

सत्तारुढ कांग्रेस र एमालेले धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै अधिकत्तम सात प्रदेशकै अडानमा रहने निश्कर्ष निकालेका छन् । संविधानका मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीका विषयमा सहमति जुटाउन प्रमुख तीन दलबीच आवासीय बैठकको तयारी भइरहेकै बेला सिंहदरबारमा मंगलबार बसेको बैठकले यस्तो निश्कर्ष निकालेको हो । दुई दलले एमाओवादीसँगको छलफलका क्रममा संघीयता र शासकीय स्वरुपमा एउटै धारणा प्रस्तुत गर्ने सहमति पनि गरेका छन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई दलबीच संघीयता र शासकीय स्वरुपमा समान धारणा रहेको बताए । ‘संघियतामा ५ वा ६ प्रदेशभन्दा बढी मुलुकले धान्न सक्दैन । एमाओवादीलाई सहमतिमा ल्याउनका अधिकत्तम सात प्रदेशसम्म जान सकिन्छ,’ उनले भने, ‘दुई दिन गम्भीर वार्ता गरेर सहमति जुटाउने दिशामा जानुपर्छ भन्ने हाम्रो समान धारणा छ ।’ शासकीय स्वरुपमा पनि कांग्रेस र एमालेको समान धारणा बनेको छ । सुधारसहितको संसदीय प्रणालीमा जान एमाले तयार भएपछि दुई दलबीच समान धारणा बनेको हो ।

एमालेको औपचारिक धारणा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली हो । एमाले नेता अग्नि खरेलले शासकीय स्वरुप र संघीयताका विषयमा कांग्रेस र एमालेबीच करिव-करिव समान धारणा रहेको बताए । शासकीय स्वरुपमा स्थिर खालको ससदीय प्रणालीमा जान सकिने खरेलले बताए ।


  •  
  •  
  •