विवाद समाधान र मस्यौदा विधेयक तयार एक साथ

60
  •  
  •  
  •  

काठमाडौं २९ साउन (ओएनएस) : दलहरुले विवादित विषयमा सहमति र संविधान विधेयक लेख्ने काम एक साथ अघि बढाउने भएका छन् । संविधानको मस्यौदामा सहमति जुट्न बाँकी केही विषयहरुको टुंगो लगाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शीर्ष नेताहरु सामेल गरी बनाएको विशेष समितिको बैठक आज बस्दैछ। बैठक १२ बजे बोलाइएको छ । बिहान कार्यदलले विधेयक मस्यौदाको काम सुरु गर्नेछ ।

आज र भोलि छलफल गरेर विधेयक तयार गर्ने कार्यदलका सदस्य कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । कार्यदलको बैठक बिहान ९ बजेपछि बस्दैछ । संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनका लागि संविधानसभाबाट प्राप्त सुझाव र निर्देशनअनुरूप संविधान विधेयक निर्माणका लागि समितिकै सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको हो ।

सीमांमा थप छलफल
प्रदेशको सीमांकनबारे दलहरुले थप छलफल गर्ने भएका छन् । आजको विशेष समिति बैठकमा त्इसमा छलफल हुनेछ । कतिपय ठाउँमा देखिएको ‘जायज असन्तुष्टि’लाई सम्बोधन गर्न सकिने शीर्ष नेताहरुले बिहिबार संसदमा संकेत दिए लगत्तै बस्न लागेको बैठकमा मिल्न बाँकी विषयहरुमा समेत छलफल गरी निचोड निकालिने बताइएको छ।

धर्म निरपेक्षता, राष्ट्रिय पार्टी हुनका लागि आवश्यक न्यूनतम मत सीमा अर्थात थ्रेसहोल्ड र संवैधानिक निकायमा पुनर्नियुक्ति लगायतका विषयमा प्रमुख राजनीतिक दलहरुबीच अझै सहमति हुन नसकेका विषयहरु हुन्।

शुक्रबार बस्ने विशेष समितिको बैठकले यी लगायत खासगरी सीमांकनका विषयमा देशका विभिन्न स्थानहरुमा भईरहेको विरोधलाई संबोधन गर्न प्रयास गर्ने अपेक्षा गरिएको छ।


  •  
  •  
  •