सोमबार सहमति गर्ने भन्दै सकियो शीर्ष नेताको बैठक

104
  •  
  •  
  •  

काठमाडौ, ४ माघ(ओएनएस) : संविधान जारी गर्न तोकिएको मिति आउन चार दिन मात्र बाँकी रहदा विवादित बिषयमा दलहरुबीच सहमति अझै हुन सकेको  छैन ।

तोकिएको मितिमा संविधान आउने संभावना कमाजोर बनेको बेला संविधानसभा भवन बानेश्वरमा बसेको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्षनेताबीचको बैठक आइतबार सहमतिको नजिक पुगेको बताइएको थियो । तर आइतबारको बैठक पनि कुनै सहमति बिना सकिएको छ । अन्तरिक छलफलपछि सोमबार फेरि बस्ने गरि बैठक सकिएको हो ।

दलहरुबीच संघियताको बिषयमा तीब्र विवाद छ । खासगरि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्लालाई पहाडी जिल्लाको प्रदेशमा मिसाउने वा ताराईकै जिल्लामा राख्ने विषयमा दलहरु बिभाजित छन् । यस विषयमा आइतबार विहान पनि बैठक बसे पनि विना निश्कर्ष सकिएको थियो ।

नयाँ संविधानका अन्तर्वस्तुमा देखिएको विवादलाई वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयासमा शीर्षनेता क्रियाशील छन् । पछिल्लो समय संविधानका विवादित विषयलाई सहमतिमा परिणत गर्न साझाबिन्दु पहिल्याउन प्रमुख दलको बैठकले निरन्तरता पाउँदै आएको छ । दलबीचसङ्घीयता, शासकीयस्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा गम्भीर मतभेद छ ।

पछिल्लो समय ती विवादलाई टुङ्ग्याउने विषयमा सहमति कि प्रक्रिया भन्नेमा दलहरू विभाजित देखिएका छन् । सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्वारा विवादको छिनोफानो गर्नुपर्छ भन्नेमा उभिएको छ । प्रतिपक्ष भने सहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ ।


  •  
  •  
  •