काठमाडौं ११ कात्तिक (ओएनएस) : सहमतिको समय सीमा भित्र संविधानका विवादित विषय मिलाउन दलहरुलाई कठिन भएको छ । संविधानसभाले दिएको कात्तिक १५ गतेको समयसीमा घर्किदै गर्दापनि दलहरु संघियताका विषयमा टाढिएका छन् । तीनदलका शीर्ष नेताहरुको बैठक समेत अवरुद्ध भएपछि अनौपचारीक छलफल सुरु भएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अबको दुई दिन अनौपचारिक छलफलमा केन्द्रित रहने बताए ।
१४ र १५ गते हामी औपचारिक बैठक बसेर १५ गतेसम्म सहमतिमा पुग्ने पूरै कोशिस भइरहेको उनले बताए । मंगबारको संवैधानिक समितिको बैठकमा दलहरुले निर्धारित समयमा संविधान बन्ने शंका व्यक्त गरेका छन् । साना दलका नेताहरुले ठूला दलका कारण सहमति हुन नसकेको आरोप लगाए । ठूला दलका नेताहरु भने प्रक्रियामा जाने वा सहमतिय प्रक्रियालाई तन्काउने भन्नेमा विभाजित देखिए । दुई दिनको अनौपचारिक छलफलका आधारमा प्रमुख दलहरुको औपचारिक बैठक बसेर सहमति निर्माणको प्रयत्न गर्ने पनि सभापति भट्टराईले बताए ।
दुईदलको बैठक निस्कर्ष विहीन
एमाले र एमाओवादीका शर्ष नेताहरु वार्ता विना निष्कर्ष टुङ्गिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको वार्तामा संघियताका बारेमा कुनै पनि सहमती हुन नसकेको नेताहरुले बताएका छन् । वार्तामा एमालेका केपी ओली, माधव नेपाल र बामदेव गौतम, एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र नारायण्ँकाजी श्रेष्ठ सहभागि थिए ।