काठमाडौं २ माघ (ओएनएस) : संविधानसभालाई हदम्यादले च्याप्दै लैजादा दलहरुबीचमो सम्वाद झन टुटेको छ । प्रतिपक्षी र सत्तापक्ष दलहरु आन्तरिक रणनीतिमा लाग्दा संघियताका मुद्दामा कित्ताकाटको अवस्था देखिएको छ । दलहरुले अब माघ ८ मा संविधान भन्न छाडेर त्यसपछिको रणनीतिमा लागेका छन् ।
सत्तासिन दल माघ ८ अघि नै संविधान बनाउने बाटो लगाएर नजिकैको मिति तोक्ने योजनामा लागेका छन् भने विपक्षी दल माघ ८ लाई टार्ने प्रयत्नमा लागेर सहमतिकै बाटोमा फर्काउने रणनीतिमा लागेका छन् ।
दुईपक्षीय रणनीतिले संविधानसभा अप्ठ्यारोमा परेको छ । संविधानसभाको पुस २४ गते बसेको बैठकले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका विवादित विषयमा सहमति कायम गर्न र त्यो नसके प्रतिवेदन निर्णयार्थ पेस गर्ने अधिकार दिएको थियो । त्यसयता छलफलसम्म ठप्प भएको छ ।
प्रक्रियामा जनो र त्यसलाई रोक्ने यत्नमै समय खर्च भइरहेको छ । कांग्रेस–एमालेसहित सत्तारुढ दलहरू संवाद समितिमा आफूहरूले दर्ता गराएको ९ बुँदे अवधारणापत्र आजको संविधानसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा छन् । सहमति सम्भव नभएकाले पेलेर जाने गरि छलफल भइरहेको एक नेताले दावी गरे । त्यसका लागि बालुवाटारमा बैठक सुरु भएको छ । साढे ९ बजेसम्म ९ बुदे अवधारणका विषयमा संसोधन सहित प्रस्ताव बनाउने नेताहरुले बताएका छन् ।
सत्तारुढ दलले दुई तिहाइ मतका आधारमा नयाँ संविधान जारी गर्ने तयारी अघि बढाएका छन् । विपक्षी दलले त्यसलाई प्रतिवाद गर्ने रणनीति अख्तियार गरेका छन् । कांग्रेस एमालेले गर्ने निणर्यका आधारमा थप रणनीति बनाउने एमाओवादी नेता अग्नि सोपकोटाले बताए ।