काठमाडौं २ भदौ ।
लीय भागवन्डा मिलेपछि झण्डै सात महिनादेखि रिक्त संसदीय समितिले नेतृत्व पाउने भएका छन् । प्रमुख दलहरुबीचको किचलोका कारण रोकिएको सभापति चयन प्रक्रिया सोमबारबाट प्रारम्भ हुने भएको छ ।
नेताहरुका अनुसार विषयगत ११ र विशेष ३ गरी १४ समिति मध्ये काग्रेस/एमालेले ४/४, एमाओवादी २, राप्रपा नेपाल, मधेसी दल र साना दललाई १/१ समितिको नेतृत्व दिने सहमति भएको छ । सुरक्षा विशेष समितिको नेतृत्व भने सभामुखले नै गर्ने व्यवस्था छ ।
कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार काग्रेसको भागमा राज्यव्यव्स्था, कृषि तथा जलस्रोत, उद्योग वाणिज्य तथा उपभोक्ता हित र संसदीय सुनुवाई समिति परेको छ । त्यसै एमालेको भागमा विकास, अर्थ, महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण र सुशासन तथा अनुगमन समिति परेको छ । लेखा र अन्तर्राष्ट्रिय तथा श्रम समिति एमाओवादी, सामाजिक न्याय तथा मानवअधिकार राप्रपा नेपाल, वातावरण संरक्षण समिति मधेसी दल र विधायन समिति साना दलमध्येलाई दिने सहमति भएको छ ।
संसदले आउदो बुधवार सभापति चयन गर्ने गरी सोमबार कार्यालालिका सार्वजनिक गर्ने तयारी गरेको छ । लेखा समितिको सभापतिमा भने दुई साताअघि नै एमाओवादी नेता जनार्दन शर्मा चुनिएका छन् । नेतृत्व नहुदा ‘मिनि संसद’को रुपमा चनिने समितिहरु प्रभावकारी बन्न सकेका थिएनन् । दलहरुले समितिको नेतृत्व चयनमा चासो नदिएपछि सभामुख सुवास नेम्बाङले आफ्नो अधिकार प्रयोग गर्दै लेखा समितिको निर्वाचनको मिति घोषणा गरिदिएका थिए । त्यसपछि पनि अन्य समितिको नेतृत्व चयनका लागि दलहरुले तदारुकता नदेखाएपछि सबैको निर्वाचन तालिका तय गरिएको हो ।
प्रमुख दल काग्रेस र एमालेबीच आफूले सम्हालेको मन्त्रालयको कार्यक्षेत्र नपर्ने गरी समितिको जिम्मेवारी लिने सैद्धान्तिक सहमति भएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार दलहरुले यस्तो सहमति गरेका हुन् । त्यही सिद्धान्तअनुसार लेखा समितिको जिम्मेवारी विपक्षीलाई दिने परम्परा रहँदै आएको छ । अन्य समितिहरुमा पनि जुन मन्त्रालय आफ्नो भागमा परेको छ त्यो मन्त्रालयको कार्यक्षेत्र पर्ने समितिको जिम्मेवारी अर्को पार्टीलाई दिने सहमति बनेको हो ।
दलहरुबीच समितिहरुको बाँडफाँडमा सहमति जुटेपनि समितिको सभापति को हुने भन्नेबारे पार्टीभित्र टु्गो भने लागेको छैन । ‘सभापति छान्नका लागि निर्वाचनको प्रक्रियामा प्रवेश गरेपनि सर्वसम्मत रुपमा चयन हुन्छ,’ काग्रेस प्रमुख सचेतक श्रेष्ठले भने ।
एमालेभित्र पनि सभापति कसलाई बनाउने भन्ने टुंगो लागेको छैन । ‘सभापति बन्ने विषय पार्टीमा टुंगो लागेको छैन,’ एमाले सचिव गोकर्ण विष्टले भने, ‘सभापति चयनको प्रक्रिया सुरु भएपछि पदाधिकारीको बैठकले नाम टुंगो लगाउँछ ।
कुन समिति कसको भागमा ?
कांग्रेस
राज्य व्यवस्था
कृषि तथा जलस्रोत
उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध
संसदीय सुनुवाई
एमाले
विकास समिति
अर्थ
महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण
सुशासन तथा अनुगमन
एमाओवादी
लेखा
अन्र्तराष्ट्रिय तथा श्रम
राप्रपा नेपाल
सामाजिक न्याय तथा मानवअधिकार
मधेशी दल
वातवरण संरक्षण समिति
साना दल
विधायन समिति
कान्तिपुरबाट