दलहरु आआफ्नो अडानमा लचक

504
  •  
  •  
  •  

3 dalकाठमाडौं २६ मंसिर ।
प्रमुख दलहरु संविधानका अन्तरवस्तुमा आआफ्नो अडानबाट लचक देखिएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेशी दल पहिलेका अडानबाट लचक भई सहमतिको निकट पुगेको नेताहरुले बताएका छन् । प्रमुख चार राजनीतिक पक्षबीच भएको अनौपचारिक समझदारीबाट पछि नहटे छिटै सहमति हुने बिश्वास उनीहरुले गरेका छन् ।

माघ ८ नजिक आउदै गर्दा दलहरु पूर्व अडानबाट लचक भएका हुन् । सहमतिका लागि बिहीबार कांग्रेस, एमाओवादीबीच अनौपचारिक कुराकानी भएको छ । कांग्रेस, एमाले निर्वाचन प्रणालीबाट, एमाओवादी, मधेशी शासकीय स्वरुपमा लचक भएपछि संघीयताको संख्यामा उनीहरुबीच ठूलो मतभेद छैन । यसअघि कांग्रेस, एमालेले सात, एमाओवादी, मधेशीले १० प्रदेशको अडान राख्दै आएकोमा दुबै पक्ष बीचको बाटो खोज्न तयार भएका छन् । प्रदेशको नामाङन सम्बन्धित प्रदेशलाई जिम्मा दिनेमा दलहरुबीच खास बिवाद छैन ।

प्रदेशको सिमाङनका लागि आयोगलाई जिम्मा दिनेबारे दलहरुबीच छलफल जारी छ । एमाओवादी, मधेशीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अडानमा लचकत देखाएको कांग्रेस, एमालेका नेताले जानकारी दिएका छन् । कांग्रेस, एमाले निर्वाचन प्रणाली समानुपातिक हुने लचकता देखाएपछि एमाओवादी, मधेशी शासकीय स्वरुपमा विचार गर्न सकिने बताएका छन् । एमाओवादीले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री हुन नसके संसदीयभन्दा फरक देखिने विकल्प खोज्नु पर्ने धारणा छ । त्यसमा राष्ट्रपति र प्रधानमन्त्रीको शक्ति सन्तुलन मिलाउनु पर्ने उसको भनाइ छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपको बिषय सहमतिका लागि दलहहरुबीच लेनदेन हुने संभावना छ ।

‘कांग्रेस, एमालेले निर्वाचन प्रणालीबारे पहिलेको धारणामा पुनर्विचार गर्न सक्ने अवस्था छ’ कानुन मन्त्री तथा कांग्रेस नेता नरहरि आयार्चले कान्तिपुरसंग भने, ‘अरु बिषयमा लचक भए शासकीय स्वरुपमा विचार गर्न सकिने एमाओवादीको भनाइ छ ।’ उनले संघीय प्रदेशको संख्याभन्दा सीमाङकनको बिषय के गर्ने भन्नेबारे कुराकानी केन्दि्रत भएको जानकारी दिए । ‘सबै विषय प्याकेजमा गरौ भन्ने भएको छ’ उनको भनाइ छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले दलहरु पहिलेभन्दा लचिलो भएकाले सहमतिको संभावना बढेको बताए । ‘माघ ८ नजिकदै गर्दा सबै लचिलो भएका छन्’ उनले भने, सहमतिको संभावना बढै छ भन्न सकिन्छ ।’

एक महिना राजनीतिक गतिरोधका कारण संविधान निर्माणका बिषयमा दलहरुबीच संवादहीनता भएको अविश्वास बढेको थियो । संविधानसभाको संवाद समितिका सभापति एबं एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई दलहरु सहमतिका आधारमा संविधान निर्माण गर्न लागेको उल्लेख गर्दै त्यसले धेरै आशा जगाएको बताए । ‘दलका शिर्ष नेताहरुमा सहमतिका लागि गंभीरता देखिएको छ’ उनको विश्लेषण छ, ‘वातावरण राम्रो बन्दै गएको छ, सहमतिबाट निकास निकाल्ने विकल्पमा राम्ररी कुराकानी भइरहको छ ।’ प्रमुख राजनीतिक शक्तिबीच सहमतिका आधारमा मात्र छिटो संविधान जारी गर्ने इच्छा व्यक्त हुनुनै निकासको शुभसंकेत भएको उनको भनाइ छ । ‘सबभन्दा छिटो संविधान ल्याउने बाटोनै सहमति हो’ उनले भने, ‘सहमतिको संभावना बढ्या छ, तोकिएकै समयमा संविधानको मस्यौदा बन्ने बिश्वास बढेको छ ।’

कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले प्रमुख दलका सबै नेतामा बिश्वासको वातावरण बनेकाले संविधानको सहमतिको ढोका खुल्दै गएको बताए । ‘बिगतमा अविश्वासका कारण संविधान निर्माणमा अवरोध आइरह्यो’ बिहीबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गरेपछि उनले भने, ‘को कति लचक र को कति कडा भन्ने कुरा होइन, छिटोभन्दा छिटो सहमति गर्नेमा हामीबीच बिवाद छैन ।’ उनले दुई पक्षीय छलफलपछि प्रमुख चार पक्षको बैठक बस्ने जनाए । कान्तिपुरबाट


  •  
  •  
  •