काठमाडौं १ असोज (ओएनएस) विजयकुमार गच्छदारलाई मनाउन प्रमुख तीनदलले प्रयास जारी राखेका छन् । बिहीबार रातीसमय भएको वार्तामा ठोस निस्कर्ष नआएपछि आज फेरि वार्ता हुँदैछ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कतिपय विषयमा हिजो छलफल भए पनि सहमति नभएकाले आज फेरि बैठक बस्ने जानकारी दिए । हिजो प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको थियो ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले समानुपातिक समावेशितालगायत माग सम्बोधन गर्ने, सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्नेसम्बन्धी प्रस्ताव तीन दलका तर्फबाट फोरम लोकतान्त्रिक समक्ष राखिए पनि सहमति हुन नसकेको बताए ।
संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम लोकतान्त्रिक लाई पुनः प्रक्रियामा ल्याउनेबारे दलहरुले आज पनि छलफल गर्न लागेका हुन् ।