वैकल्पिक प्रस्ताव ल्याउँदै युवा नेता

70
  •  
  •  
  •  

काठमाडौं ७ फागुन । प्रमुख तीन दलका युवा नेता शीर्ष नेताहरूलाई एकठाउँमा ल्याएर संविधानका विवादित विषयमा समाधान खोज्न छलफलमा जुटेका छन्। उनीहरुले संविधानका विवादमा विकल्पसहितको प्रस्ताव नै तयार गरेर शीर्ष नेताबीच बढ्दो दुरी घटाउन पहल थालेका हुन्। यही क्रममा बुधबार राजधानीमा सत्तारुढ कांग्रेस–एमाले र विपक्षी मोर्चाको प्रमुख घटक एमाओवादी युवा नेताको ‘गोप्य’ भेला गरिएको छ।

संविधानका विवादित अन्तर्वस्तु राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे युवा नेताहरूले विषयकेन्द्रित छलफलसमेत जारी राखेका छन्। बुधबार बिहानको भेला शीर्ष नेतालाई सहमतिको बिन्दुमा कसरी ल्याउन सकिन्छ भन्ने केन्द्रित रहेको एक सहभागीले जानकारी दिए।

यसअघि भएको सहमतिलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमार्फत मस्यौदा समितिमा पठाउने र संघीयताका सन्दर्भमा देखिएको विवाद वार्तामार्फत नै टुंगो लगाउने गरी केही समयका लागि संवाद समितिमा पठाउने प्रस्ताव भेलामा आएको स्रोतको दाबी छ।

त्यस्तो अवस्था कुनै दललाई मान्य नहुने भए संघीयताका सवालमा देखिएका सबै विषय समाधानका लागि छुट्टै आयोग बनाउने अर्को प्रस्ताव गर्ने उनीहरुको तयारी छ। त्यस्तो आयोगले नाम, सीमा, संख्यामा देखिएको विवाद समाधान गर्ने उनीहरूको ठम्याइ छ।

एमाओवादी युवा नेताहरूले निश्चित दिनमा टुंगो नलागे कसरी अघि जाने भन्ने विषयमा पनि अहिले नै सहमति गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ। कांग्रेस–एमालेका युवा नेताले भने सहमतिनिम्ति एक/डेढ महिना समय दिन सकिने प्रस्ताव अघि सारेका छन्।

एमाओवादीले भने तीनवटा विषय मस्यौदामा पठाएपछि आफूहरूलाई पेलेर अघि बढ्न सक्ने सम्भावना रहेको भन्दै डेढ महिनामा सहमति नभए कसरी टुंगो लगाउने भनेर अहिले नै विश्वासिलो आधार खोजेको छलफलमा सहभागी एक नेताले नागरिकलाई जानकारी दिए।

‘उहाँ (एमाओवादी) हरू अझै पनि कांग्रेस–एमालेले तीनवटा विषय मस्यौदामा पठाएपछि हामीलाई पेल्छन् भन्ने मानसिकतामा हुनुहुन्छ,’ छलफलमा सहभागी कांग्रेसका एक युवा नेताले भने, ‘हामी विश्वासिलो आधार बनाउन आयोग नै बनाऊँ भन्ने पक्षमा छौं।’

प्रधानमन्त्रीको आह्वान अधुरो रहेको भन्दै एमाओवादी नेताले फेरि आह्वान गरे सहज हुने प्रस्ताव अघि सारेका छन्। कांग्रेस–एमालेका युवा नेता प्रधानमन्त्रीलाई छिनछिनमा आह्वान गर्न लगाउनु राम्रो नहुने भन्दै अर्को विकल्पमा जानुपर्ने पक्षमा छन्। उनीहरूले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङमार्फत बैठकमा सहभागी गराउने प्रस्ताव राख्दा एमाओवादीले नमानेपछि तीनवटै दलका युवा नेताले संयुक्त छलफलमा जुटाउने निष्कर्ष निकालेका छन्।

‘पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्रीसमेत भइसकेका दुई नेतालाई घन्टौंसम्म बेलमा नारा लगाउन लगाएर संविधानसभा अध्यक्षले चित्त दुखाएका छन्,’ एमाओवादी एक नेताले भने, ‘त्यसैले अहिले उनैसँग छलफल गराइदिनुस् भन्न मिल्दैन।’

बेलमा सामान्य विरोध भएको अवस्थामा पनि प्रक्रिया अघि नबढाउने परिपाटी नेम्वाङले भत्काएको एमाओवादी आरोप छ। ‘पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिहरू वेलमा निस्कँदा घन्टौं नाराबाजी गराएर र त्यसपछि नाराबाजीकै बीचमा प्रक्रिया अघि बढाएर चित्त दुखाउने काम गरिएको छ,’ उनले भने।

छलफलमा जुटेका युवा नेताहरूले सकेसम्म १६ गतेअघि नै प्रमुख पार्टीका नेताहरूको बैठक गराउने तयारी गरेका छन्।

सहमतिको बिन्दु खोज्न कांग्रेसका चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, एमालेका शंकर पोखरेल, प्रदीप ज्ञवाली, राजन भट्टराई, रवीन्द्र अधिकारी, एमाओवादीका टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेत, गंगा श्रेष्ठ लगायतका नेताहरू पटक–पटक छलफलमा जुटिरहेका छन्। नागरिकबाट


  •  
  •  
  •