अन्तिम दिन सत्तापक्ष र विपक्षी फरक रणनीतिमा

209
  •  
  •  
  •  

Maoist banda (5)काठमाडौं ७ माघ (ओएनएस) : संविधानसभामा पेलेर जाने कांग्रेस–एमालेको प्रयासलाई निष्फल बनाउन एमाओवादी–मधेसवादी मोर्चा माघ ५ गते राति तोडफोडमै उत्रियो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारी, कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ आक्रमणका तारो बने । संविधानसभा बैठक कक्षमा ठूलो भौतिक क्षति पुग्यो । तीन मर्यादापालक घाइते भए ।

माघ ६ गते संविधानसभा बैठक सुरु हुन नपाउँदै मोर्चाका सभासदहरु बेलमा जम्मा भए । सय मिनेटसम्म नाराबाजि गरे । सिटमा बस्न गरेको पटकपटकको आग्रह पनि अटेर गरेपछि सभाध्यक्षले आजसम्मका लागि बैठक स्थगित गरेका छन् ।

बैठकको कार्यसूची रहेको छ, प्रश्नावली समिति बनाउने । यसमा एमाओवादी–मधेसवादी मोर्चा सहमत छैन । प्रश्नावली समितिले संवैधानिक राजनीतिक संवाद समितिले पठाएको अधुरो प्रतिवेदन अध्ययन गरी नमिलेका विषय पहिल्याउँदै संविधानसभामा निर्णयका लागि प्रस्तावका रुपमा पेस गर्नेछ । प्रस्ताव कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पेस गर्ने र त्यसमा एमाले प्रमुख सचेतक अग्नि खरेलले समर्थन गर्ने कार्यसूची छ ।

विपक्षीहरुले यो कार्यसूची माघ ८ सम्मका लागि मात्रै हुने ठानेका छन् । त्यसपछि हालको संविधानसभा नियमावली, त्यसअन्तर्गत बनेको कार्यतालिका र त्यही कार्यतालिकालाई आधार मानेर बनाउन खोजिएको प्रश्नावली समिति सबै असान्दर्भिक हुने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंह बताउँछन् । भन्छन्, ‘अहिलेसम्म कुनै सभासद उठ्दा मात्रै पनि संविधानसभा र संसदले नियमित कार्यसूची अगाडि बढाउन सकेको छैन । बेलमै आएर सयौँ सभासदले प्रदर्शन गरेपछि संविधानसभाको कार्यसूची अघि बढ्नै सक्दैन ।’

Maoist banda (4)
सत्तापक्षले भने मोर्चाको प्रदर्शन कायम रहेसम्म संवाद नै नगर्ने अडान सार्वजनिक गरेको छ । हिजो माघ ६ गते बसेको कांग्रेस–एमाले संयुक्त बैठकले यो निर्णय सार्वजनिक गरेको हो । एउटा पक्षले प्रदर्शन गरिरहने र अर्को पक्षले संवाद नै नगर्ने अडानले संविधान जारी गर्ने पूर्वनिर्धारित तिथि गुजार्न झन् सघाउनेछ । सत्तापक्षको मनःस्थिति पनि एमाओवादी–मधेसवादी मोर्चालाई पेलेरै अघि बढ्ने देखिँदैन । बरु प्रदर्शनबाटै थकाउने रणनीतिमा कांग्रेस–एमाले देखिन्छन् । एमालेका प्रमुख सचेतक अग्नि खरेल भन्छन्, ‘हेरौँ, कहिलेसम्म गर्छन् प्रदर्शन् ? कति दिन चल्छ यस्तो ?’

माघ ८ गतेसम्म कुनै नयाँ समझदारीमा पुग्ने र अर्को समयसीमा निर्धारण गरी संविधान ल्याउने प्रतिबद्धता गर्नुपर्ने अडानमा एमाओवादी मोर्चा रहेको छ । तर, कांग्रेस–एमाले अहिलेकै प्रक्रियाको निरन्तरताका रुपमा प्रश्नावली तयार गर्ने, संविधानको पहिलो मस्यौदा ल्याउने र त्यसैलाई अन्तिम रुप दिने बाटोमा छ ।

तर, एमाओवादी मोर्चालाई बाहेक गरेर दुई तिहाईका आधारमा संविधान ल्याउने आँट कांग्रेस–एमालेमा देखिँदैन । खासगरी कांग्रेस र प्रधानमन्त्री सुशील कोइरालाले यस पक्षमा दृढतापूर्वक उभिन सकिरहेका छैनन् । त्यसैले एउटा पिटेजस्तो र अर्कोले रोएजस्तो गरेको आमबुझाइ आधारहीनजस्तो लाग्दैन ।

तर, कांग्रेस, एमाले र स्वयं संविधानसभाका अध्यक्षले समेत के बुझ्नुपर्छ भने संविधानसभामा प्रस्तुत उद्दण्डताका अगाडि घुँडा टेक्ने, संविधानसभालाई एक चौथाई मतको बन्धक बन्न दिने र स्पष्ट दुई तिहाई मत हुँदा पनि निर्णय लिन नसक्ने हो भने यसलाई पनि जनमतको सम्मान भन्न मिल्ने छैन । बहुमत जनताको समर्थनको सही उपयोग गर्न सक्नुपर्छ ।


  •  
  •  
  •