सहमतिका लागि मुख्य तीनदलबीच छलफल हुनै गाह्रो

115
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : मंलबारसम्म संविधानका विवादित विषयमा सहमति गरिसक्नुपर्ने संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको समयसिमा छ भने संसद् बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।

यि विषयमा छलफल गर्नका लागि तीन दलबीच पटकपटक छलफलको प्रयास भएपनि बैठक बस्न सकेको छैन । पछिल्लापटक बोलाईएका  बैठकहरुमा सामान्य छलफल समेत हुन सकेको छैन । सोमबार दुईपटक सहमतिका लागि बैठक बस्ने प्रयास गरेपनि असफल भयो ।

सहमतिका लागि भन्दै विहान ८ बजे सिंहदरबारमा शीर्ष तीन दलको बैठक बस्ने तय भएको थियो ।  नेताहरु भेला भएपनि छलफल केहीपनि भएन । बैठकमा एमालेका शिर्ष नेताहरु नआएपछि बैठक स्थगित भयो र फेरी १२ बजे बस्ने भन्दै नेताहरु छुट्एि ।

बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान बनाउने विषयमा कांग्रेस एमाले गम्भिर नभएकाले समस्या आएको आरोप लगाए । उनले भने,‘ कांग्रेस एमाले सहमति त के वार्ता गर्न समेत तयार छैनन् ।’

पत्रकारकै अगाडीबाट उनले एमालेका नेता माधवकुमार नेपाललाई फोनबाट जसरी पनि बैठकमा आउन भन्दै असन्तुष्टि पोखे । उनले एमाले अध्यक्ष केपी ओली झापा गएको जानकारी पठाएको भन्दै तत्काल आउन नेपाललाई आग्रह गरे ।

दिउँसो साढे १२ बजेका लागि बोलाईएको बैठकपनि त्यस्तै भयो । एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डाक्टर बाबुराम भट्टराई, कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेबाट उपाध्यक्ष विद्या भण्डारी भेला भए । फेरी पनि बैठक नवसी हिडे ।

नेताहरुले कुनै प्रतिकृया दिएनन् । रामचन्द्र पौडेलले नरोकिई,‘ हुँदैछ, सहमति हुन्छ’ भनेर आफ्नो बाटो लागे । शीर्ष नेताहरुनै नभएपछि दोस्रोपटक हेरफेर गरिएको संविधान निर्माणको कार्यतालिकामा असर पर्ने देखिएको छ भने संसदको गतिरोध पनि लम्बिने देखिएको छ ।


  •  
  •  
  •