गावैं कब्जा लिएर डाँका आतंक

109
  •  
  •  
  •  

 
काठमाडौं १ वैशाख ।
झापा-सीमापारिबाट आएको डाँकाको समूहले आइतबार राति गाउँ नै कब्जामा लिएर आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। जथाभाबी बम फ्याँक्दै र बन्दुक पड्काउँदै गाउँ पसेको समूहलाई नियन्त्रणमा लिन प्रहरीसमेत हच्किएपछि डाँकाको गोलीले पृथ्वीनगर–८ का देवकुमार श्रेष्ठको मृत्यु भएको हो। हिमाली चोकमा किराना तथा हार्डवेयर होलसेल सञ्चालन गरिरहेका ५० वर्षे पूर्वप्रहरी श्रेष्ठको टाउको र छातीमा गोली लागेको थियो।
घर घेरेर भित्र पसेका लुटेरासँग श्रेष्ठ आधा घन्टासम्म एक्लै  भिडिरहे पनि घटनाबारे सूचना पाएपछि पनि प्रहरी आइनपुगेको परिवारले जनाएको छ। घटनामा तीन जनाभन्दा बढी घाइते छन्। अन्य दुई जनालाई पनि गोली लागेको छ। 
स्थानीयका अनुसार डाँकाहरूले श्रेष्ठको घरको मुख्य ढोका फोड्न थाल्दा नै डेढ किलोमिटर उत्तरमा रहेको सीमा प्रहरीचौकीमा छिमेकीले फोन गरेका थिए। चौकीका प्रमुख सई हरि प्रसाईंले ‘ल हामी आयौैं’ भनेर फोन राखेका थिए। तर, फेरि सम्पर्क गर्दा उनले मोबाइल फोन स्विच अफ गरेका थिए। 
‘मैले नै प्रहरीलाई यहाँ डाँका आएका छन्, तपाईंहरू आइदिनुस् भनेर फोन गरेँ,’ श्रेष्ठका छिमेकी वेदबहादुर कार्कीले भने, ‘तर हिँड्यौं भनेको प्रहरी ४५ मिनेटपछि मात्रै आइपुग्यो।’
स्थानीयका अनुसार आइतबार राति साढे ११ बजे २० जनाभन्दा बढीको डाँका समूह हिमालीचोक आइपुग्नासाथ सुतली बम विस्फोट गराएको थियो। ‘त्यसपछि हामीले बत्ती बाल्यौं,’ स्थानीयले भने, ‘त्यसपछि उनीहरूले घरैपिच्छे बत्ती निभाउन भन्दै धम्क्याए। नमान्नेको घरमा बम हाने, रातभरि त्रासै त्रासमा बित्यो।’ डाँका समूहले दर्जनौं सुतलीबम पड्काएको उनीहरू बताउँछन्। 
मृतकका कान्छा छोरा रोशनका अनुसार राति १२ बजेतिर पाँचदेखि सात जनाले मुख्य ढोकाको ग्रिल तोड्ने प्रयास गरेका थिए। कोठामा भएको कत्ती लिएर उनले डाँकामाथि प्रहार गरे पनि लागेन। बरु उनीमाथि गोली प्रहार भयो। ‘त्यति बेला त केही थाहा भएन,’ उनले भने, ‘पछि रगत आउँदा थाहा भयो, टाउकाको दायाँ भागमा गोली लागेछ।’ 
रोशन र उनका सानोबुबा बाहिर निस्केपछि डाँकाहरू मनपरी फायरिङ गर्दै बुबाआमाको कोठातिर लम्किएका थिए। डाँका फर्केपछि भित्र गएर हेर्दा आमाबुबालाई घाइते अवस्थामा भेटेको रोशनले जनाए। 
‘यो सबै घटना ४५ मिनेटबीचमै भयो,’ उनले भने, ‘तर डेढ किमिछेउको प्रहरी आइपुगेन।’ लगत्तै भद्रपुर लैजाँदै गर्दा बुबाको बाटैमा मृत्यु भएको उनले जानकारी दिए। रोशनका अनुसार आमा गंगाको शरीरभरि धारिलो हतियारको चोट छ। आमाछोराको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।  चिकित्सकले रोशनको टाउकोबाट गोली निकालेका छन्। 
प्रहरी घटनास्थल पुग्दासम्म डाँकाहरू छिमेकी दुर्गा गौतमलाई गोली प्रहार गरिसकेर घरको छानामा बम पड्काउँदै भारतीय सीमातिर भाग्दै थिए। प्रहरीले उनीहरुलाई लखेटेन। बरु विपरीत दिशातिर दौडियो। ‘घटनास्थलमा भेला भएका हामीले डाँकाहरू पूर्वतिर भागेको बताउँदा पनि प्रहरी दक्षिणतिर दौडिए,’ एक स्थानीयले सुनाए। 
प्रहरीले डकैती नियन्त्रणमा चासो नदिएको भन्दै आक्रोशित गाउँलेले सोमबार दिनभर चौकी घेराउ तथा नाराबाजी गरे। जसकारण पृथ्वीनगर दिनभर तनाबमा रह्यो। स्थानीयले बिहानै चौकीमा  ढुंगा हानेपछि भिड नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको थियो। झडपमा केही प्रहरी र गाउँले घाइते छन्। आक्रोशित गाउँले र परिवारले श्रेष्ठको अन्त्येष्टि गरेका छैनन्।
घटनामा प्रहरीको कमजोरी देखिएको प्रशासनले पनि स्वीकार गरेको छ। सोमबार साँझ प्रशासन टोलीले गाउँमा माइकिङ गरेरै सई प्रसाईंलाई निलम्बन गरिएको सूचना सुनाएको थियो। 
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विश्वमणि पोखरेलका अनुसार प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। डाँका समूहले श्रेष्ठको घरबाट १ लाख ८० हजार नगर र १० तोला सुन लुटपाट गरेको उनले जानकारी दिए।

नागरिकबाट


  •  
  •  
  •