सम्झना गैरे
काठमाडौं, २५ भदौ (ओएनएस) : ‘ल आउनुस् गर्मीमा खानुस् भक्तपुरको मिठो जुजु धौ ।’ हरेक दिन बिहान १० बजे देखि गौतम था श्रेष्ठको दैनिकी यही भनाईबाट सुरु हुन्छ । भक्तपुरको बोडेबाट खर्पनमा २० वटा नाङ्लोमा उनी दही बोकेर उच्चमाध्यमिक शिक्षा परिषदको गेटमा बस्छन् । उमेरले मात्र ५२ बर्षका उनलाई वरपर सबैले ‘दहीबाजे’ भनेर जिस्काउछन् । तर, उनलाई कत्ति पनि रिस उठ्दैन । ‘यही दहीबाट जीवन चलाएको छु, त्यसो भन्दा त मलाई झन आनन्द आउछ’, उनी गर्वका साथ भन्छन्, ‘दही बेचेरै गुजारा चलाएको ३८ बर्ष भयो ।’ १४ बर्षको उमेर देखि उनको नाता दहीसँग जोडियो । सुरुमा त करले दही बेचे तर आजभोली उनका लागि यो व्यवसाय रहर बन्न थालेको छ ।
दही बेचेकै भरमा उनले छोरालाई कृषि वैज्ञानिक बनाएको बताउछन् । ‘दुःख गरेर दही बेचेको पैसाले छोरालाई पढाए, आज बेलायतमा कृषि बैज्ञानिकको पदमा जागिरे छ ।’ यसो भन्दा उनको अनुहारमा मन्द मुस्कान छाएको थियो । ‘बैज्ञानिकको बाबुले खर्पनमा दही बेच्न अफठ्यारो लाग्दैन ?’ यो प्रश्न भुर्इंमा झर्न नपाउँदै उनी जंगिए,‘काम गरेर खान के को लाज ।’ कहिलेकाँही उनलाई छोराले अव त खर्पनमा दही बेच्न छोड्नुस् लाज हुन्छ भन्छन् रे । त्यतिबेलै उनले ‘दही बेचेरै तलाई बैज्ञानिक बनाएको हुँ अव बेच्न के को लाज’ भन्दै जवाफ फर्काउने गरेको सुनाए ।
जीवनमा अरु धेरै नाता सम्बन्धमा चिसो आए पनि दहीसँगको सम्बन्ध उनका लागि प्रिय छ । एक छोरालाई बैज्ञानिक बनाएका यी बाबुले दही बेचेकै भरमा दुई छोरीलाई स्नातकोक्तर सम्मको अध्ययन गराए । ‘अहिले छोरीहरु जागिरे छन् । हाँसीखुसी आफ्नो पारिवारिक जीवन बिताइरहेकाछन्’ भन्दै उनले आजभोली आफू दूई बुढाबुढीका लागि दही बेचेकै पैसाले घरखर्च जुटाउने गरेको सुनाए ।
छोराछोरीले एकै स्वरमा कहिलेकाही घरमै बसेर व्यापार गर्न सुझाउछन्, तर उनले घरै थर्काउने गरी भन्ने गरेकाछन्,‘घरमै बस्दा त जेल जस्तो लाग्छ मलाई । तिमीहरुको कमाई चाहिदैन । आफ्नै कमाईले बाच्छु । खर्पनमै दही बोकेर हिड्छु ।’
उनको दही बेच्ने शैली अनौठो छ । कसैले पैसा छैन भन्यो भने उनी सित्तैमा खुवाएर पठाउछन् । भन्छन,‘अब मलाई पो किन चाहियो धेरै पैसा । छोराछोरी हुर्कीहाले । म बुढोलाई यही पनि धेरै हुन्छ ।’ यस्तो भन्दै उनी गललल हास्छन् । वरीपरी झुम्मिएर स्वाद लिदै दही खानेहरु पनि उनी सँगै मन खोलेर हासिदिन्छन् ।
दहीको व्यापार गर्ने उनलाई दही खान नहुने रोग लागेको छ । ‘यूरिक एसिड असाध्यै बढेको छ, डाक्टरले दही झुक्किएर पनि नखा भन्छन्, आफूँलाई यही मिठो लाग्छ’, भन्दै उनले आफुले खान नपाए पनि दहीमा जतिसक्दो मिठास भर्ने गर्छन रे । ‘स्पेसल दही बनाउन मसलाहरुको मात्र मिलाएर प्रयोग गर्छु, त्यसमा पनि केसरको प्रयोगले हदीको रंग हेर्दा मात्र खाउखाउ लाग्ने बन्छ,’ आफ्नो प्रयोगबारे उनले सुनाए, ‘आफै भैंसी पालेर बाक्लो दुधमा दही बनाउछु एकपटक खानेले मलाई पक्कै सम्झिन्छ ।’