डडेल्धुरा आगलागीका पिडीतलाई तत्काल राहत दिन एमालेको माग

115
  •  
  •  
  •  

काठमाडौं, २१ पुस (ओएनएस)  : नेकपा एमालेले डडेल्धुरा सदरमुकामस्थित बागबजारमा शनिबार राति भएको आगलागीका पिडीतलाई तत्कालिन र दीर्घकालिन राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

एमाले सचिव पृथ्वी सुब्बा गुरुङले ले जारी गरेको प्रेश विज्ञप्तिमा घटनाप्रति दुख ब्यक्त गर्दै राहतको व्यवस्था गर्न माग गरिएको छ ।

यता आगलागीमा भएको क्षतिको वास्तविक विवरण तयार गर्न र घटनाको वास्तविकता बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रतिनिधि, डडेल्धुरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, अमरगढी नगरपालिकाका प्रतिनिधि, सहरी आवास तथा भवन डिभिजन कार्यालय डोटीका प्रतिनिधि र रेडक्रस डडेल्धुराका प्रतिनिधि सम्मलित छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले दुईदिनदेखि अविरल वर्षा भइरहेका बेला विद्युत् लाइनबाट आगलागी अनुमान छ । विद्युत् लाइनबाट आगलागी हुँदा सदरमुकामको मुख्य बजार मानिने बागबजारमा १० घर क्षतिग्रस्त भएको र २६ वटा व्यावसायिक फर्महरूमा रहेका सामान पूर्णरुपले नष्ट भएको थियो ।

आगलागीका कारण अधिकांश व्यापारीका पसलमा रहेका करौडौँ मूल्यका सामान जलेर नष्ट भएका छन् । घटनापछि आगलागी नियन्त्रणका लागि अमरगढी नगरपालिकाको दमकल तयारी अवस्थामा नरहेकाले ढिलाइ भएको र प्रहरीको भूमिका प्रभावकारी नरहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा सहभागी जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूले गुनासो गरेका थिए ।


  •  
  •  
  •